‘दुश्मन’लाई ‘हेरको हेर्‍यै’ बनाउने दुर्गेशको डान्सबारदेखि ‘जेन-जी’ आन्दोलनसम्मको यात्रा

‘दुश्मन’लाई ‘हेरको हेर्‍यै’ बनाउने दुर्गेशको डान्सबारदेखि ‘जेन-जी’ आन्दोलनसम्मको यात्रा

गण्डकी : दशैंमा बेलायतका दर्शकलाई नचाएर फर्केका गायक तथा स्टेज पर्फमर दुर्गेश थापा अहिले अमेरिकाको साङ्गीतिक यात्रामा छन्।

तिहारको रमाइलो माहोलमा नेपाली मनहरूसँग जोडिन अमेरिका पुगेका उनी ११ फरक शहरमा आफ्नो प्रस्तुति दिँदैछन्। गत शुक्रबार टेक्सासको अस्टिनबाट सुरु भएको उनको यो साङ्गीतिक दौड नोभेम्बर २२ मा डलासमा पुगेर टुङ्गिनेछ।

‘आउँदो शनिबार न्युयोर्क शहरमा प्रस्तुति दिँदैछु,’ अमेरिकाबाटै उनले भने, ‘म निकै उत्साहित छु। तिहारको अवसरमा अमेरिकामा रहनुभएका नेपालीहरूसँग भेट्ने र रमाइलो गर्ने मौका मिलेको छ।’

यो उनको पहिलो अमेरिका यात्रा हो। डेढ महिने बसाइमा उनले न्युयोर्क, बाल्टीमोर, कोलम्बस, भर्जिनिया, कोलोराडो लगायतका शहरमा साङ्गीतिक कार्यक्रम गर्दैछन्।

देश-विदेशका साङ्गीतिक कार्यक्रममा दुर्गेशको दौडधुप गत वर्षदेखि ह्वात्तै बढेको हो। यसको पछाडि एउटै गीतको जादु छ- ‘दुश्मन हेरेको हेर्यै...’।

गत पुसमा सार्वजनिक भएको यो गीतले आफ्नो साङ्गीतिक करिअरलाई नै नयाँ मोड दिएको उनी स्वीकार्छन्। युट्युबमा हालसम्म १३ करोडभन्दा बढी पटक हेरिएको यो गीत युट्युब ट्रेन्डिङको पहिलो स्थानमा मात्र रहेन, ग्लोबल ट्रेन्डिङमा समेत पर्न सफल भयो।

गीतको अपार सफलताले भावुक बनेका दुर्गेशले त्यो बेला भनेका थिए, ‘भगवानरूपी दर्शक/स्रोताले दिनुभएको यो सम्मान केवल भ्यूजको सङ्ख्या होइन, यो मेरो सपना पूरा भएको क्षण हो।’

आफ्नै शब्द र सङ्गीतमा तयार यो गीतमा दुर्गेशसँगै वरिष्ठ गायक आनन्द कार्की तथा गायिका समीक्षा अधिकारी र एलिना चौहानको स्वर छ। गीतको भिडियोमा दुर्गेशसँगै कलाकार प्रियङ्का कार्की, कविता नेपाली र पेमा लामाको अभिनय देख्न सकिन्छ।

‘यो गीत मेरो करिअरकै एउटा मानक गीतका रूपमा रहनेछ’, उनी भन्छन्।

व्यस्तता र बढ्दो माग
‘दुश्मन हेरेको हेर्यै...’को सफलतापछि दुर्गेशको माग आकासिएको छ। उनको पछिल्लो गीत ‘जाने भए जाम माया...’ पनि चर्चामा छ।

‘त्यो गीतको सफलताले मलाई थप उचाइ दियो, नयाँ ऊर्जा पाएको छु,’ उनले भने, ‘कतिपय ठाउँका कार्यक्रममा माग आए पनि व्यस्तताका कारण समय दिन सकिरहेको छैन।’

अमेरिकापछिको यात्रा पनि लगभग तय भइसकेको छ। अब उनी क्यानडा र युरोपको साङ्गीतिक यात्रामा निस्किँदैछन्। गत हिउँदमा उनलाई नेपालकै मेला-महोत्सवमा भ्याइनभ्याइ थियो। फागुन महिनामा मात्रै उनले ३२ भन्दा बढी ठाउँमा प्रस्तुति दिएका थिए। सफलताको यो शिखरमा रहेर पनि उनी यथार्थ भुल्दैनन्।

‘सधैँ म यो स्थानमा रहन सक्दिन, मेरो ठाउँमा अर्को प्रतिभा आइपुग्छ,’ उनी भन्छन्, ’तर, आज म जहाँ छु, आफ्नै मेहनत र कर्मका कारण छु।’

सङ्घर्षको भट्टीदेखि सफलताको शिखरसम्म
सयौँ गीतमा स्वर दिएका र म्युजिक भिडियोमा अभिनय गरेका दुर्गेशको परिचय गायकभन्दा बढी एक सफल ‘स्टेज पर्फमर’को छ। तर, यो चम्किलो वर्तमानको पछाडि लामो सङ्घर्षको कथा छ।

वि.सं. २०६३ तिर गृह जिल्ला बागलुङको गलकोटबाट काठमाडौं छिर्दा उनको आँखामा मोडल बन्ने एउटै सपना थियो। तर, सपनाको शहरमा टिक्न सजिलो थिएन। करिअरको सुरुवाती दिनमा उनले रेस्टुराँ र डान्सबारमा नर्तकको रूपमा काम गरे।

गायक तथा सर्जक बसन्त थापाको साथ लागेर पहिलो पटक राजधानी छिरेका दुर्गेशका लागि काठमाडौँ एक अपरिचित शहर थियो। अनेक अवरोध र बाधा आए, तर उनले हार मानेनन्।

‘अग्रज कलाकार, मेरो आदरणीय दाइ बसन्त थापासँग म पहिलो पटक काठमाडौँ आएको हुँ। कलाकारितामा मलाई तातेताते गराउनुभएको उहाँले नै हो’, उनी आफ्नो अभिभावक र गुरु बसन्त थापालाई सम्झिन्छन्।

विगतमा कतिपय सिर्जनाका कारण चर्चा र विवादमा समेत आइरहने दुर्गेश पछिल्लो समय आफूलाई परिमार्जन गर्दै अघि बढेको बताउँछन्। १९ वर्ष लामो सिर्जनशील यात्रामा उनले युवा र किशोरपुस्तामाझ आफूलाई लोकप्रिय बनाएका छन्।

‘जेन-जी’ युवाको देशप्रेम र दुर्गेशको साथ
हालै दुर्गेश आफ्नो कलाकर्ममा मात्र सीमित रहेनन्, सामाजिक सरोकारमा पनि जोडिएका छन्। केही साताअघि ‘जेनजी’ आन्दोलनका घाइतेहरूलाई भेट्न उनी अस्पताल नै पुगे। उनले पहिलो चरणमा ११ जना घाइतेलाई दश-दश हजारका दरले उपचार खर्च सहयोग गरे।

‘म सधैँ युवाहरूको पक्षमा छु,’ उनले भने, ‘उनीहरूमा देखिएको देशप्रतिको प्रेम र त्यागको भावनाले मलाई गर्व लागेको छ। उनीहरूको बलिदान खेर जानु हुँदैन।’

यसरी आफ्नो साङ्गीतिक यात्रासँगै सामाजिक मुद्दामा पनि आवाज उठाउँदै दुर्गेशले आफूलाई एक सचेत कलाकारको रूपमा प्रस्तुत गरेका छन्।

राम थापा/रासस

कात्तिक ७, २०८२ शुक्रबार ०९:१७:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।