दुई कुरामा ‘असफल’ प्रशिक्षक ल, तर विश्वकपमा छ नेपालको यस्तो रणनीति

दुई कुरामा ‘असफल’ प्रशिक्षक ल, तर विश्वकपमा छ नेपालको यस्तो रणनीति

काठमाडौं : सात महिनाअघि नेपाली क्रिकेट टोलीको जिम्मेवारी सम्हालेका प्रशिक्षक स्टुअर्ट ल ले लगभग सबै कुरामा सफलता पाएका छन्। तर, दुई कुरामा भने उनी आफैँलाई ‘असफल’ मान्छन्।

पहिलो, नेपालको ‘कार्डियक किड्स’ अर्थात् अन्तिम ओभरमा दर्शकको मुटुको धड्कन बढाउने टोलीको उपनाम हटाउने उनको प्रयास। उनी चाहन्छन्, नेपालले विपक्षीलाई सजिलै हराओस्, तर टोलीले अन्तिम ओभरको रोमाञ्चक जित निकाल्ने बानी छाडेको छैन।

दोस्रो, नेपाली समर्थकको अपेक्षालाई कम गराउने उनको रणनीति। जब उनी समर्थकलाई नेपालबाट ‘धेरै आशा नगर्नुस्’ भन्छन्, टोलीले ठीक उल्टो नतिजा निकालेर सबैलाई चकित पारिदिन्छ।

नेपालले पछिल्ला १२ टी-२० अन्तर्राष्ट्रिय खेलमध्ये १० मा जित निकालेको छ। यसमा वेस्ट इन्डिजजस्तो बलियो टोलीलाई शारजाहमा हराएको शृङ्खला जित पनि सामेल छ।

दीपेन्द्रसिंह ऐरीको कीर्तिमानी रनआउट होस् वा गुलशन झाका उत्कृष्ट क्याचहरू, नेपालले आफूलाई विश्वकै उत्कृष्ट फिल्डिङ टोलीको रूपमा चिनाएको छ। यति धेरै सफलताका बावजुद प्रशिक्षक ल विश्वकपलाई लिएर सचेत छन्।

द नेशनल न्यूज कुराकानीमा उनी भन्छन्, ‘नेपालमा सबैले हामीले विश्वकप जित्छौँ भन्ने सपना देख्नुभएको होला, तर अहिले नै भारत र अस्ट्रेलियाजस्ता टोलीलाई हराउनु अलि टाढाको कुरा हो।’

उनले विश्वकपका लागि नेपालको रणनीतिबारे प्रस्ट पारे। उनले आफूहरू ‘अन्डरडग’को फाइदा उठाउने बताए।

उनले भने, ‘हरेक खेलमा हामी कमजोर आँकिएको टोली (अन्डरडग) हुनेछौँ। यसको फाइदा यो हो कि हामीमाथि कुनै दबाब हुँदैन, दबाब त बलिया भनिएका टोलीहरूलाई हुन्छ।’

यस्तै उनले ‘फ्री हिट’ शैलीम खेल्ने बताए। उनले थपे, ‘हाम्रो लागि विश्वकप एक फ्री हिट जस्तै हो, जहाँ हामीले खुलेर आफ्नो स्वभाविक खेल खेल्ने हो, विपक्षीको दबाबमा होइन।’

त्यसैगरी अप्रत्याशित नतिजाको सम्भावना पनि देखिन सक्ने उनको भनाइ छ। ‘टी-२० क्रिकेटमा एक-दुई ओभरले खेल पल्टिन सक्छ। यदि हामीले आफ्नो लय कायम राख्न सक्यौँ भने, कुनै पनि बेला ठूला टोलीलाई हराएर सनसनी मच्चाउन सक्छौँ’, उनी थप्छन्।

ल का अनुसार, नेपालको खेलमा मात्र होइन, खेलाडीको मानसिकतामा पनि ठूलो परिवर्तन आएको छ। उनी भन्छन्, ‘पहिले जित्दा खेलाडीहरू धेरै हौसिन्थे र हार्दा निराश हुन्थे। तर, अहिले ड्रेसिङ रुमको वातावरण निकै शान्त र सन्तुलित छ।’

उनका अनुसार, यही शान्त र परिपक्व मानसिकताले खेलाडीहरूलाई दबाबमा सही निर्णय लिन मद्दत गर्छ।अन्तिम बलमा पुगेर खेल जित्नु रोमाञ्चक भए पनि, यो नयाँ आत्मविश्वास र सन्तुलित सोच नै विश्वकपमा नेपालको सबैभन्दा ठूलो हतियार हुनेछ।

कात्तिक ७, २०८२ शुक्रबार ०८:४८:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।