सुरक्षित मातृत्व : योजना र चेतनाबीच हराइरहेका सपनाहरू

सुरक्षित मातृत्व : योजना र चेतनाबीच हराइरहेका सपनाहरू

मातृत्व केवल प्राकृतिक घटना होइन, यो एक गम्भीर स्वास्थ्य प्रक्रिया हो, जुन जिम्मेवारी, योजना र प्रणालीगत तयारीसँग जोडिएको हुन्छ। यसको व्यवस्थापनका लागि प्रकृतिले करिब नौ महिनाको समय पनि दिएको छ। पछिल्ला केही दशकमा मातृ मृत्युदर घटाउने प्रयासमा हामीले उल्लेखनीय प्रगति गरेका छौँ, जुन गर्वको विषय हो।

आमा सुरक्षा कार्यक्रमअन्तर्गत निःशुल्क प्रसव सेवा, नगद प्रोत्साहन र उच्च जोखिममा रहेकालाई रिफर गर्नेजस्ता पहल सकारात्मक छन्। यसका साथै स्वास्थ्य बीमाले पनि थप सहजता ल्याएको छ। तर, यथार्थ त्यति सरल छैन। सुविधा उपलब्ध हुनु मात्र पर्याप्त हुँदैन रहेछ। सचेतना, पूर्वतयारी र समयमै पहुँच नभएसम्म ती सुविधाले सबै आमा र बच्चाको जीवन बचाउन सक्दैनन्।

मोरङको एक गाउँमा बस्ने अनिता सरदार (नाम परिवर्तन) तेस्रो पटक गर्भवती थिइन्। उनले यसअघि दुई पटक कोशी अस्पतालमा सिजेरियन गरेर सन्तान जन्माइसकेकी थिइन्। अघिल्ला गर्भावस्थामा उनले नियमित जाँच, आइरन, खोप आदि सबै सेवा गाउँकै स्वास्थ्य चौकीबाट लिएकी थिइन्। व्यथा लागेपछि मात्र कोशी अस्पताल पुगेकी थिइन् र सन्तान सुरक्षित जन्मेका थिए।

यसैकारण तेस्रो पटक पनि उनको विश्वास थियो कि पहिले जस्तै यसपटक पनि ठीकै हुन्छ। उनले गाउँकै स्वास्थ्य चौकीमा गरिने नियमित जाँचलाई नै पर्याप्त मानिन्। स्वास्थ्य चौकीले पनि उनलाई कुनै विशेष चेतावनी दिएको थिएन।

दुई पटक सिजेरियन भइसकेकी उच्च जोखिमकी गर्भवतीका रूपमा उनको अवस्थाबारे न त परिवारलाई सचेत गराइयो, न त कुनै प्रसव योजना नै बनाइयो। छत्तीस-सैंतीस हप्तासम्म पनि विशेषज्ञ परामर्श भएन, न त अस्पतालमा शल्यक्रियाको मिति नै तय भयो।

जब गर्भको नवौँ महिनामा व्यथा लाग्यो, कोशी अस्पताल भीडले भरिएको थियो। शय्याको अभाव, चाडपर्वको बिदामा धेरै स्वास्थ्यकर्मीहरू अनुपस्थित हुनु र अन्य कारणले अस्पतालले नयाँ बिरामी भर्ना लिन अस्वीकार गर्यो। अनिता र उनको परिवार रातभरि विराटनगरका अस्पतालहरूमा दौडिन बाध्य भए। दुई पटक सिजेरियन भइसकेकी गर्भवतीमा तेस्रो पटक प्राकृतिक प्रसव गराउँदा गर्भाशय फुट्नेजस्तो गम्भीर जोखिम हुन्छ।

तर, अनिताको लागि न त योजना थियो, न सुरक्षित समय, न त कुनै तयारी। राति व्यथा चर्किँदै गयो, परिवार असहाय बन्यो। न पर्याप्त पैसा थियो, न वैकल्पिक अस्पतालहरूको जानकारी। अनि, अस्पतालका ढोकामा उनी केवल भीडमा हराएकी एक गर्भवती बनिन्।

अन्ततः हामीले मोरङ सहकारी अस्पतालमा बिहान करिब ५ बजे सिजेरियन गर्यौँ। राति १ बजेदेखि आमा व्यथाले चिच्याइरहेकी थिइन्, बुबा अस्पतालहरूका ढोका ढक्ढक्याइरहेका थिए, अनि दुई सन्तानहरू आमासँगै आत्तिरहेका थिए। त्यो चार घण्टा सरदार परिवारका लागि एक युगभन्दा कम थिएन।

यो घटनाको विपरीत, विराटनगरदेखि टाढाको अर्को घटनाबारे जानौँ। प्रभा यादव (नाम परिवर्तन) को पहिलो गर्भ थियो। उनले नियमित परीक्षण गराउनुका साथै आइरन र क्याल्सियम सेवन गरिरहेकी थिइन्।

तर अकस्मात्, गर्भको तीस हप्तामा नै उनको पानी (सुतक) फुट्यो। चिकित्सकीय भाषामा यसलाई ‘प्रिम्याचुर रप्चर अफ मेम्ब्रेन’ (पीआरओएम) भनिन्छ। यस अवस्थामा आमा र गर्भको शिशुलाई नजन्मिँदै पनि सङ्क्रमण हुन सक्ने र तुरुन्तै प्रसव हुने जोखिम हुन्छ।

परिवारले हतारिँदै उनलाई नजिकको अस्पतालमा पुर्याए। स्वास्थ्यकर्मीहरूले तुरुन्त जोखिम मूल्याङ्कन गरे, सङ्क्रमण रोक्न औषधि सुरु गरे र रिफरलको तयारी गरे। परिवारलाई बुझाइयो कि ३० हप्तामा नै प्रसव भए नवजात शिशुको गहन सुरक्षाका लागि एनआईसीयूको आवश्यकता पर्छ।

यसपछि उनलाई विराटनगर ल्याइयो, जहाँ नवजात शिशुका लागि एनआईसीयू उपलब्ध थियो। एनआईसीयू भए पनि हामीले थप दुई हप्तासम्म उपचार गरेर गर्भलाई बत्तीस हप्तासम्म पुर्यायौँ र अन्ततः योजनाबद्ध तरिकाले ३२ हप्तामा सिजेरियन गर्यौँ। आमा र बच्चा दुवै सुरक्षित रहे। समयमै लिइएको निर्णय, उचित समन्वय र संरचनाको सदुपयोग नै यस घटनाको सफलताको मर्म हो।

यी दुई घटनाले एउटै सत्यलाई बलियोसँग उजागर गर्छन्- गर्भावस्था सबै ठीक हुन्छ भन्ने आशावादमा मात्र सुरक्षित हुँदैन। सुरक्षित मातृत्वको आधार हो- सचेत निर्णय, जोखिम पहिचान, अस्पतालको तयारी र परिवारको समझदारी। अनिता सरदारको केसले चेतनाको कमी र प्रणालीको कमजोरी देखाउँछ भने अर्को केसले समयमै गरिएको निर्णय र संरचनाको सदुपयोगले आमा-बच्चाको जीवन बचाउन सकिन्छ भन्ने देखाउँछ।

नेपालले मातृ स्वास्थ्यमा उल्लेखनीय प्रगति गरेको छ। निःशुल्क प्रसव, स्वास्थ्य बीमा र प्रसव प्रोत्साहन राष्ट्रव्यापी छन्। तर प्रश्न उठ्छ- यति सुविधा हुँदा पनि किन अनिता सरदारजस्ती आमा अस्पतालको ढोकामा भौँतारिनुपर्यो? उत्तर स्पष्ट छ- चेतना र पूर्वतयारीमा कमी। धेरै गर्भवतीहरूले प्रसवलाई आकस्मिक घटना ठान्छन्। धेरै स्वास्थ्य चौकीहरू गर्भ परीक्षण गर्ने, आइरन चक्की वितरण गर्ने र टीडी खोप लगाउने केन्द्रजस्ता मात्र बनेका छन्।

कतै योजना बनाउन सहयोग गर्न समय दिइँदैन त कतै स्वास्थ्यकर्मीहरूको परामर्शलाई बेवास्ता गरिन्छ। सुगम स्थानहरूमा समेत प्रसवको योजना बनाइँदैन, जोखिममा रहेका गर्भवतीहरूलाई विशेषज्ञतर्फ पठाइँदैन, र परिवार नै जटिलताबारे अनभिज्ञ हुन्छ। यही कारणले गर्दा सुविधा भए पनि त्यसको उपयोग समयमा हुन सक्दैन।

गर्भवतीको व्यवस्थापन सधैँ एकै प्रकारले हुँदैन। सामान्य गर्भावस्था नियमित जाँच र सुरक्षित सामान्य प्रसवबाट सफल हुन सक्छ। तर, उच्च जोखिमयुक्त गर्भावस्था पनि हुन्छन्, जसमा आमा र बच्चाको ज्यान जान सक्छ भन्ने बिर्सन मिल्दैन। पहिले सिजेरियन गरेका, उच्च रक्तचाप तथा मधुमेह भएका, समयअगाडि नै पानी गएका वा जुम्ल्याहा गर्भजस्ता अवस्थाहरूमा जोखिम बढ्छ।

यस्ता उच्च जोखिमका गर्भवती पहिचान गरेपछि प्रसव योजना बनाउनु अनिवार्य हुन्छ। कुन अस्पताल जाने, प्रसव कहिले गर्ने, चिकित्सकसँग कहिले परामर्श गर्ने र आपत्कालमा रिफरलको व्यवस्था के हो? यसबारे परिवारले समेत गहन छलफल गर्नुपर्छ। प्रसव तयारी र जटिलता तयारीका कार्यक्रमहरू नेपालमा नभएका होइनन्, तर ती कागज र कार्यक्रममा सीमित छन् र व्यवहारमा धेरै ठाउँमा प्रभावकारी भएको पाइँदैन।

अनिताको केसले सरकारी स्वास्थ्य संस्थाको सीमित क्षमता पनि देखाउँछ। कोशी अस्पताल कोशी प्रदेश मात्र नभई मधेश प्रदेशका सप्तरी, सिरहा अनि छिमेकी मुलुक भारतका सीमावर्ती क्षेत्रका नागरिकहरूको उपचार केन्द्र हो।

जनसङ्ख्या तीन गुणाले बढे पनि कोशी अस्पतालमा शय्या र जनशक्ति वृद्धि भएको छैन। उच्च जोखिमका गर्भवतीका लागि चौबीसै घण्टा सेवा सुनिश्चित छैन। प्राथमिक र उच्चस्तरीय अस्पतालबीचको रिफरल प्रणाली कमजोर छ। यी चुनौतीहरू हट्नुपर्छ, नत्र ‘सबैलाई सुरक्षित प्रसव’ को लक्ष्य नारामै सीमित हुनेछ।

सुरक्षित मातृत्वका लागि अब उच्च जोखिमका गर्भवतीहरूको पहिचान र अनिवार्य योजनाको प्रक्रिया अपनाउनु जरुरी छ। यसका साथै स्वास्थ्य चौकीस्तरमै प्रसव योजना बनाउने प्रथा लागू गर्नुपर्छ।

रिफरल प्रणालीलाई बलियो बनाउँदै अस्पतालहरूको क्षमता विस्तार गर्नुपर्छ। स्थानीयस्तरमा परिवारमा चेतना अभिवृद्धिका अभियान चलाउनु अपरिहार्य छ। स्वास्थ्य बीमाको प्रयोग बढाउँदै ग्रामीण परिवारलाई सहज दर्ता र प्रोत्साहनको व्यवस्था गर्नुपर्छ।

गर्भावस्था प्रकृतिको अनुपम उपहार हो, तर सुरक्षित मातृत्वलाई प्रकृतिको भरमा छोड्न सकिँदैन। यसका लागि योजना, चेतना र प्रणालीगत तयारी अपरिहार्य छ। मातृत्वलाई आपत्कालीन घटना होइन, पूर्वतयारीसहितको सफल यात्रा बनाउन आवश्यक छ। यसका लागि नीति, संरचना र चेतना नभएको होइन, तर यी तीनवटैको मेल र कार्यान्वयनबाट मात्र नेपालमा सुरक्षित मातृत्वको लक्ष्य प्राप्त गर्न सकिन्छ। यो केवल नीतिको विषय होइन, यो आमा र बच्चाको भविष्य र जीवनको प्रश्न हो।

कात्तिक ७, २०८२ शुक्रबार ०८:१४:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।