अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच अक्टोबर ३० मा भेटवार्ता हुने
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आगामी अक्टोबर ३० मा दक्षिण कोरियामा भेटवार्ता हुने भएको छ।
ह्वाइट हाउसले यसको पुष्टि गर्दै राष्ट्रपति ट्रम्प दक्षिण कोरियामा आयोजना हुने एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा सहभागी हुने र सोही क्रममा चिनियाँ राष्ट्रपतिसँग भेट गर्ने जनाएको छ। यो शिखर सम्मेलन अक्टोबर ३१ देखि नोभेम्बर १ सम्म चल्नेछ।
दुई नेताबीच भेटवार्ता हुने अपेक्षा पहिलेदेखि नै गरिएको भए पनि अमेरिका र चीनबीचको बढ्दो तनावका कारण यसमा अनिश्चितता छाएको थियो।
ट्रम्पले दोस्रो पटक राष्ट्रपतिको पदभार ग्रहण गरेपछि दुई नेताबीच हुन लागेको यो पहिलो प्रत्यक्ष भेटवार्ता हो।
हालै राष्ट्रपति ट्रम्पले यदि चीनले ‘रेअर अर्थ’मा लगाएको प्रतिबन्ध खुकुलो नपारेमा अमेरिकाले नोभेम्बरदेखि चिनियाँ वस्तुहरूमा १०० प्रतिशतसम्म अतिरिक्त शुल्क लगाउनेबारे विचार गर्ने चेतावनी दिएका थिए।
ह्वाइट हाउसका अधिकारीहरूका अनुसार, दुई नेताको वार्तामा व्यापार, ऊर्जा सहयोग र युक्रेन सङ्घर्ष जस्ता महत्त्वपूर्ण विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
कात्तिक ७, २०८२ शुक्रबार ०७:५०:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।