चर्चित भारतीय हेयर स्टाइलिस्ट जावेद हबिबमाथि एउटै प्रहरी चौकीमा ३२ मुद्दा दर्ता
‘त्यो मेरो बिहेका लागि राखेको पैसा थियो...’ यति भन्दाभन्दै उत्तर प्रदेशको सम्भल जिल्ला, मियाँ सरायकी अल्बिनाको गला अवरुद्ध हुन्छ।
बीएससीसम्म पढेकी अल्बिना पहिले एक निजी अस्पतालमा काम गर्थिन्, तर आजभोलि उनी प्रहरी थाना धाइरहेकी छिन्। उनको मिहिनेतको कमाइ ४ लाख ७० हजार रुपैयाँ एउटा स्किममा डुबेको छ।
उत्तर प्रदेशको सम्भल जिल्लामा अल्बिना जस्तै करिब सय जनाको पैसा यसरी नै डुबेको छ। यो ठगी प्रकरणको केन्द्रमा भारतका चर्चित हेयर स्टाइलिस्ट जावेद हबिबको नाम जोडिएको छ। यही कारणले सम्भल प्रहरीले उनीविरुद्ध एकपछि अर्को गर्दै ३२ वटा मुद्दा दर्ता गरेको छ।
यस विषयमा जावेद हबिबका एक वकिलले बीबीसीलाई बताएअनुसार, मानिसहरूले पैसा लगानी गरेको कम्पनीसँग हबिबको कुनै सम्बन्ध छैन।
कसरी शुरू भयो ठगीको जालो?
घटना २४ अगस्ट २०२३ मा सम्भलको एक म्यारिज हल ‘रोयल प्यालेस’ बाट शुरू भएको थियो, जहाँ ‘फलिकल ग्लोबल’ नामक कम्पनीको सेमिनार आयोजना गरिएको थियो। कम्पनीको ब्रोसरमा ‘द टिम’ भनेर जावेद हबिब र उनका छोरा अनुस हबिबको तस्बिर छापिएको थियो, जसमा उनीहरूलाई संस्थापकका रूपमा देखाइएको थियो।
उक्त सेमिनारमा सम्भल र वरपरका करिब २०० जना सहभागी थिए। तीमध्ये धेरैले उच्च प्रतिफलको लोभमा कम्पनीमा लगानी गरे।
पीडितहरूका अनुसार, मञ्चबाट कम्पनीले ‘वेलनेस’ उद्योगलाई डिजिटलाइज गरिरहेको र जग्गा, स्वास्थ्य तथा सौन्दर्य व्यवसायमा लगानी गरेर ठूलो नाफा दिलाउने बताइएको थियो। लगानीकर्ताहरूलाई हरेक महिना २० देखि ३० प्रतिशतसम्म नाफा कमाउन सकिने आश्वासन दिइएको थियो।
पीडित अल्बिना भन्छिन्, ‘मेरो दाइको एक साथीले जावेद हबिबको कम्पनीमा पैसा लगाउन भने। हरेक महिना नाफा आउँछ भनेका थिए। मलाई लाग्यो, यति ठूलो नामले धोका कसरी दिन सक्छ र!’
अल्बिना जस्तै धेरैले यस कम्पनीमा लगानी गरेका थिए। प्रहरीका अनुसार, यस स्किममा १०० भन्दा बढी व्यक्तिले पैसा लगाएका छन् र करिब ५ देखि ७ करोड भारु ठगी भएको छ।
सम्भलका प्रहरी उपरीक्षक (एसपी) कृष्ण कुमार बिश्नोईले भने, ‘सर्वसाधारणले जावेद हबिबको अनुहार देखेर विश्वास गरे र औसतमा ५ देखि ७ लाख रुपैयाँ लगानी गरे। साढे दुई वर्ष बितिसक्दा पनि कसैले एक रुपैयाँ फिर्ता पाएका छैनन्।’
लगानीकर्ताहरू हबिबको नामकै कारणले यो अविश्वसनीय योजनामा विश्वास गर्न तयार भएको दाबी गर्छन्।
एक किसान सरफराज हुसैन भन्छन्, ‘हामीलाई मिस्टर जावेद हबिब आफैं यस कम्पनीको मालिक हुन् भनिएको थियो। कम्पनीका स्थानीय एजेन्ट सैफुल्लाले हामीलाई हबिबसँग भेट गराए। हामीले तीन लाख रुपैयाँ लगायौं।’
लगानीकर्ताहरूले बीबीसी हिन्दीलाई एउटा भिडियो पनि देखाए, जसमा अनुस हबिबले भिडियो कन्फरेन्समार्फत मानिसहरूलाई योजनाबारे बताइरहेका थिए।
सम्भलको रायसत्ती थानामा अहिलेसम्म यस ठगीसँग सम्बन्धित ३२ वटा मुद्दा दर्ता भइसकेका छन्। प्रहरीले हबिबलाई बयानका लागि सूचना पठाए पनि उनी आफैं उपस्थित नभई वकिल पठाएको जनाएको छ। प्रहरीले उनको खोजीका लागि 'सर्च वारेन्ट' जारी गरेको छ।
अर्कोतर्फ, जावेद हबिबका वकिल पवन कुमारले उनको 'फलिकल ग्लोबल' कम्पनीसँग कुनै सीधा सम्बन्ध नभएको दाबी गरेका छन्।
वकिलका अनुसार, हबिब केवल एक सेमिनारमा मुख्य अतिथिका रूपमा गएका थिए र त्यहाँ उनले कपाल र सौन्दर्य व्यवसायलाई बढावा दिने कुरा मात्र गरेका थिए। हबिबको तर्फबाट २२ जनवरी २०२३ मै एक सार्वजनिक सूचना जारी गरी उक्त कम्पनीसँग आफ्नो कुनै व्यावसायिक वा वित्तीय सम्बन्ध नरहेको स्पष्ट पारिएको वकिलको भनाइ छ।
प्रहरीले यो पूरा सञ्जाल क्रिप्टोकरेन्सी (बिटकोइन) मार्फत सञ्चालन भएको हुनसक्ने आशंका गरेको छ।
एसपी बिश्नोई भन्छन्, ‘कम्पनीको मुख्यालय दुबईमा रहेको बताइएको छ। मनी लाउन्डरिङमार्फत बिटकोइन खाताबाट पैसा विदेश पठाइएको हुनसक्छ। यसबारे पनि अनुसन्धान भइरहेको छ।’
पीडित सरफराज हुसैनका अनुसार, २० अक्टोबर २०२४ मा दिल्लीमा जावेद हबिबसँग भेट हुँदा उनले ‘नआत्तिनुहोस्, म तपाईंहरूको पैसा दिन्छु’ भनेर आश्वासन दिएका थिए, तर त्यो वाचा पनि अधुरै रह्यो। अहिले सम्भलका सयौं पीडितहरू आफ्नो मिहिनेतको कमाइ फिर्ता पाउने आशामा बसिरहेका छन्।
कात्तिक ७, २०८२ शुक्रबार ०७:३५:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।