न्युजिल्यान्डलाई हराउँदै भारत महिला विश्वकपको सेमिफाइनलमा
मुम्बई : स्मृति मन्धाना र प्रतिका रावलको उत्कृष्ट शतकको मद्दतले भारतले न्युजिल्यान्डलाई ५३ रनले पराजित गर्दै आईसीसी महिला क्रिकेट विश्वकप २०२५ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
मुम्बईको डी. वाई. पाटिल स्टेडियममा भएको लिग चरणको महत्त्वपूर्ण खेलमा पहिले ब्याटिङ गरेको भारतले ४९ ओभरमा तीन विकेट गुमाएर ३४० रनको विशाल योगफल तयार पारेको थियो।
भारतका लागि ओपनर प्रतिका रावलले १२२ रन र स्मृति मन्धानाले १०९ रनको शानदार शतकीय पारी खेलिन्। त्यस्तै, जेमिमा रोड्रिग्सले पनि ७६ रनको महत्त्वपूर्ण योगदान दिइन्।
वर्षाका कारण खेल प्रभावित बनेको थियो। सुरुमा खेललाई ४९-४९ ओभरमा छोट्याइएको थियो, तर पुनः वर्षा भएपछि खेललाई ४४-४४ ओभरमा झारिएको थियो। यससँगै न्युजिल्यान्डले जितका लागि ३२५ रनको नयाँ लक्ष्य पाएको थियो।
लक्ष्य पछ्याउने क्रममा न्युजिल्यान्डको टोलीले निर्धारित ४४ ओभरमा आठ विकेटको क्षतिमा २७१ रन मात्र बनाउन सक्यो। भारतको कसिलो बलिङसामु न्युजिल्यान्डका ब्याटरहरू खुलेर खेल्न सकेनन्। भारतका लागि रेणुका सिंह ठाकुर र क्रान्ति गौडले समान दुई-दुई विकेट हात पारे।
यो जितसँगै कप्तान हरमनप्रीत कौरको नेतृत्वमा रहेको भारतीय टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्ने चौथो टोली बनेको छ। यसअघि अस्ट्रेलिया, इंग्ल्यान्ड र दक्षिण अफ्रिकाले सेमिफाइनलमा आफ्नो स्थान पक्का गरिसकेका छन्।
कात्तिक ७, २०८२ शुक्रबार ०७:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।