देशका अधिकांश भू-भागमा मौसम सफा, केही पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

देशका अधिकांश भू-भागमा मौसम सफा, केही पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौं : आज देशभरको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेकाले ठूलो मौसमी फेरबदलको सम्भावना नरहेको महाशाखाको भनाइ छ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको २४ घण्टे पूर्वानुमान अनुसार, आज दिउँसो देशका सबै प्रदेशका पहाडी भू-भागमा आंशिक बदली देखिनेछ भने बाँकी तराई तथा अन्य भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

यद्यपि, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुनसक्ने सम्भावना छ।

त्यस्तै, आज राती पनि कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही देशका अन्य स्थानमा मौसम सफा रहने पूर्वानुमान गरिएको छ।

रातीको समयमा गण्डकी प्रदेशको पहाडी तथा हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना कायमै रहने महाशाखाले जनाएको छ।

मौसमविद्हरूका अनुसार, कुनै पनि शक्तिशाली मौसम प्रणाली सक्रिय नभएका कारण आगामी केही दिन मौसम सामान्यतया स्थिर रहने देखिन्छ। यसले गर्दा दिनमा घाम लाग्ने र बिहान तथा साँझ चिसो बढ्ने क्रम जारी रहनेछ।

कात्तिक ७, २०८२ शुक्रबार ०७:१७:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।