अस्पतालमा जोडिएको जेन-जी आन्दोलनका घाइते मुकेश र पवनको सम्बन्ध, तिहारमा सँगै लगाए टीका

अस्पतालमा जोडिएको जेन-जी आन्दोलनका घाइते मुकेश र पवनको सम्बन्ध, तिहारमा सँगै लगाए टीका

काठमाडौं : तिहारको टिकाको दिन दिउँसो राष्ट्रिय ट्रमा सेन्टर पुग्दा चौथो तलाको कोठा नम्बर ‘४०३’ मा ‘जेन–जी’ आन्दोलनमा घाइते भएका २२ वर्षीय मुकेश अवस्थी र २५ वर्षीय पवन शाही भेटिए।

दुवै जना अस्पतालको त्यही कोठामा भाइटिका लगाइरहेका थिए। भाइटिका लगाइदिन मुकेशकी दिदी अस्पतालमै आइपुगेकी थिइन्।

मुकेश घरका जेठा छोरा रहेछन्। उनका एक जना भाइ र एक जना दिदी छिन्। मुकेशका दाजुभाइ र पवनले  मुकेशकै दिदीसँग भाइटिका लगाइरहेका थिए।

अस्पतालमा मुकेशकी आमा पनि आएकी थिइन्। मुकेशका ठूलो बुवा (बुवाको दाजु)का  दुई जना छोरी पनि त्यहीँ भाइटिका लगाइदिन आइपुगेका थिए। पवनको साख्यै दिदी बहिनी रहेनछन्। दुई जना दाजुभाइमध्ये पवन कान्छा छोरा हुन्।

‘आफ्नै (साख्यै) दिदीबहिनी हुनुहुन्न, बुवाको दाजु (ठूलोबुवा ठूलोममी)को छोरीहरू हुनुहुन्छ,’पवनले भने। उनी ठूलोबुवाको छोरीहरूसँग ट्रमापछि भाइटिका लगाउन जाने तयारीमा थिए।

मुकेशको घर डडेलधुरा र पवनको घर कालिकोट हो। दुवै जेन-जी आन्दोलनका घाइते तर चिनजान र मित्रता अस्पताल बसाइसँगै भएको हो। अनि घाइते अवस्थामा अस्पतालमा सँगै भाइटिका लगाए।

ट्रमा सेन्टरको भुईँमा बसेर तिहारको टिका लगाएका जेन-जी आन्दोलनका दुई घाइते र उनीहरुको परिवार।भदौ २३ गते जेन–जी आन्दोलनमा परी गोली लाग्दा मुकेशको घुँडाभन्दा तल बायाँ खुट्टा नै गुमेको छ। पवन शाहीको पेट र दायाँ हातमा गोली लागेको छ। पवनको पेटको आन्द्राको शल्यक्रिया गरेर पेट बाहिर दिशा जाने बाटो बनाइएको छ। डिस्चार्ज भइसकेको पवनको पुन पेटको शल्यक्रिया गर्न बाँकी नै छ। मुकेश भने अस्पतालमै उपचाररत छन्।

घाइते मित्रताकै कारण मुकेशसँगै उनकी दिदीसँग भाइटिका लगाउनका लागि पवन पनि बिहीबार ट्रमा सेन्टर पुगेका थिए।

ट्रमा प्रशासनको मौखिक अनुमति लिएर सुरक्षा गार्डको सहयोगमा ट्रमा सेन्टरमा उपचाररत उनीहरूलाई भेटियो। अनौपचारिक कुराकानीपछि मुकेश र पवनसँग औपचारिक कुराकानी सुरु गरेँ।

मुकेशको बायाँ खुट्टा नै गुम्यो

भदौ २३ मा भ्रष्टाचारको अन्त्य र सुशासनको मागसहित प्रदर्शनमा सहभागी हुँदा मुकेशलाई नयाँ वानेश्वरस्थित संसद् भवन अगाडि गोली लागेको थियो।

“पार्लियामेन्ट अगाडि नै (गोली) लाग्यो,”मुकेशले भने,”अन्धाधुन्ध (गोली) चलाउँदा मलाई एसएलआरको गोली लाग्यो।”

घाइते भएपछि मुकेशलाई साथीहरूले नयाँ वानेश्वरस्थित एभरेस्ट अस्पताल पुर्याएका थिए। त्यहाँ आकस्मिक उपचारपछि त्यही दिन एम्बुलेन्समा ट्रमा सेन्टर पुर्याइयो। ट्रमा पुर्याउँदा उनी होसमा नै थिए।

गोली लागेपछि उनको बायाँ खुट्टा घुँडा भन्दा तल काट्नुपर्यो। त्यो काटिएको भागमा ब्यान्डेज लगायत औषधी उपचार गरिएको छ। उनको तीन पटक शल्यक्रिया भइसक्यो। अझै उनी करिब एक महिना अस्पताल बस्नुपर्ने देखिएको चिकित्सकले जानकारी दिएको उनले सुनाए।

मुकेशले सुदूरपश्चिमबाट नै सिभिल इन्जिनियरिङ विषयमा डिप्लोमा अध्ययन गरेका छन्। उनी फेब्रुअरी (सन् २०२६) मा अस्ट्रेलिया जाने तयारीमा थिए। तर, जेन–जी आन्दोलनका क्रममा घाइते भएपछि उनको त्यो सबै सपना चकनाचुर भयो।

पवनको पेट र हातमा गोली

पवन शाही पनि भदौ २३ को प्रदर्शनमा संलग्न थिए। उनलाई पनि नयाँ वानेश्वरस्थित संसद् भवन अगाडि गोली लागेको थियो।

“बानेश्वर अगाडि मेरो पेटमा गोली लाग्यो,” पवनले भने, “अनि दायाँ हातमा पनि गोली लाग्यो।”

गोली लागेपछि कसैले पवनलाई भदौ २३ गते दिउँसो साढे एक बजेतिर एम्बुलेन्समा राखेर ट्रमा सेन्टर पुर्याए। अस्पतालमा पुर्याउँदा उनी होसमा नै थिए।

अस्पतालबाट दसैँ अघि डिस्चार्ज भएका पवनले पेटबाट बाहिर दिसा जाने बाटो बनाएकाले पेटको आन्द्रा जोड्ने शल्यक्रिया गर्न बाँकी नै रहेको सुनाए। २-३ महिनामा यो शल्यक्रिया हुने उनले बताए। उनी सामान्य हिँडडुल गर्न सक्ने भएका छन्।

पवन केही वर्ष अगाडि काठमाडौंको सुकेधारास्थित साइपाल एकेडेमीबाट प्लस टु सकेर बसेका विद्यार्थी रहेछन्। उनी फुटबल खेलाडी पनि रहेछन्। अब ब्याचलर भर्ना गर्ने सोचमा छन् उनी।

‘दोषी पत्ता लगाउनु, न्याय दिनु’

२३ गते अन्धाधुन्ध गोली चल्यो। २४ गते विध्वंस भयो। यी दुवैको अनुभवमा अहिले २३ गतेको घटना भुल्दै २४ गतेको घटनाबारे बढी बहस भइरहेको अनुभव भइरहेको छ।

“हामीहरू पो छौँ भाइहरू त गोली लागेर गइसके,” पवनले भने, “हामीलाई भन्दा पनि कति बहिनी (दिदी) हरूलाई (आन्दोलनमा मृतक) दाजुभाइ घरमा भइदिएको भए भन्ने भइरहेको छ।”

हालसम्म जेन–जी आन्दोलनका क्रममा २३ गते भएको घटनाबारे उचित छानबिन हुन नसकेको दुवैको गुनासो छ।

जेन–जी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको सरकार पनि पुरानै दलको ढर्राको देखिन थालेको महसुस भएको मुकेश र पवनको थप गुनासो छ। “उहाँहरू (हालको सरकार)ले अरू कुरामा बढी ध्यान दिनु भन्दा कसले मार्यो त्यो चाँडै छानबिन हुनुपर्यो,” पवनले भने।

कमसेकम अहिलेको सरकारले मृतक परिवार र घाइतेलाई बेकारमा आन्दोलनमा गइएछ भन्ने पश्चात्ताप नहुने गरी काम गर्न दुवैले सुझाव दिए।

उनीहरूले हालको सरकारले दुई महिना बितिसक्न लाग्दा समेत अपेक्षाकृत काम गर्न नसकेको अस्पतालको बेडबाट गुनासो पोखे। प्रधानमन्त्री कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालसँग उनीहरू असन्तुष्ट देखिए। महावीर पुन मन्त्री भएकोमा दुवै खुसी रहेछन्।

“हामीलाई केही चाहिएको छैन,” पवनले भने, “बरु अर्को गोली खान तयार छौँ, (मारिएका बच्चा बच्चीलाई) न्यायचाहिँ दिनुपर्यो।”

जेन–जी आन्दोलनका नाममा अवसरवादीले फाइदा लिइरहेको पवनलाई महसुस भइरहेको छ।

“जो घाइते छन्, उनीहरू बेडमा छन्,” मुकेशले भने, “अरूले अवसर लिन खोजिरहेका छन्। यो चित्त बुझेको छैन।”

चुनावअघि २३ गतेको घटनाको कारण र त्यसमा संलग्नहरूमाथि कारबाही नभए विध्वंस मच्चिनसक्ने दुवैको मनमा शङ्का देखियो।

लिजाले टीका लगाइनन्

मोरङकी २० वर्षीय लिजा अधिकारी पनि ट्रमा सेन्टरमा नै उपचाररत छिन्। उनको बायाँ हातको कुम (पाखुरा)मा पछाडिबाट गोलीले छेडेर अगाडि निस्किएको रहेछ। उनीसँग कुराकानी हुन सकेन। लिजाका बुवा परशुराम अधिकारीका बुवासँग कुराकानी भयो।

तर, लिजाले भाइटिका लगाएको देखिएन। उनका बुवा, आमा र भाइ ट्रमामा नै रहेछन्। परिवारले नै दशैँ र तिहार नमानेको लिजाका बुवाले सुनाए।

“मैले पनि (टीका) लगाइन, छोराले पनि लगाउन मानेन,” लिजाका बुवाले भने, “यस्तो अवस्थामा कसरी दसैँ तिहारमा टीका लगाउनु र।”

काठमाडौं विश्वविद्यालय बालकुमारीस्थित (स्कुल अफ म्यानेजमेन्ट)मा ब्याचलर चौथो वर्षमा अध्ययनरत जिलालाई नयाँ वानेश्वरमा नै गोली लागेको उनका बुवाले सुनाए। गोली लागेपछि एक जना साथीले उनलाई अन्नपूर्ण अस्पताल हुँदै ट्रमा सेन्टरमा पुर्याएको बुवा परशुरामले सुनाए। छोरीको पाँच पटक शल्यक्रिया भइसकेको उनले जानकारी दिए। अब अर्को शल्यक्रियाका लागि तयारी भएको उनले सुनाए।

जेन–जी आन्दोलनका क्रममा घाइते भएका २९ वर्षीय प्रकाश बहादुर बोहोरा ट्रमा सेन्टरको एचडियूको बेड नम्बर ‘२२१’ र पाँचौँ तलाको एउटा क्याबिन कोठामा एक जना युवा उपचाररत देखिए।

कात्तिक ६, २०८२ बिहीबार २३:०९:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।