राष्ट्रपति पुटिनद्वारा रुसी आणविक बलको अभ्यासको आदेश, ट्रम्पसँगको शिखर बैठक स्थगित

एजेन्सी : रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशका रणनीतिक आणविक शक्तिहरूको व्यापक सैन्य अभ्यास सञ्चालन गर्न निर्देशन दिएका छन्। अभ्यासमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल र लामो दूरीका क्रुज मिसाइल प्रक्षेपण समेत गरिएको बताइएको छ।
क्रेमलिनका अनुसार यो अभ्यास रूसको “आणविक त्रिकोण” - स्थल, समुद्र र हावाबाट मिसाइल प्रहार गर्ने क्षमताको परीक्षणका रूपमा गरिएको हो। अभ्यासका क्रममा उत्तरपश्चिमी रूसको प्लेसेत्स्क केन्द्रबाट यर्स प्रक्षेपण गरिएको थियो। त्यसैगरी, बेरेन्ट्स सागरमा तैनाथ पनडुब्बीबाट सिनेभा आइसीबीएम प्रहार गरिएको र टियु–९५ रणनीतिक बमवर्षकहरूले लामो दूरीका क्रुज मिसाइलहरू प्रक्षेपण गरेको जनाइएको छ।
क्रेमलिनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अभ्यासले रुसी सैन्य कमान्ड संरचनाको दक्षता र प्रतिक्रियात्मक क्षमताको मूल्याङ्कन गरेको छ।”
सेनाका जनरल स्टाफ प्रमुख जनरल भ्यालेरी गेरासिमोभले भिडियो लिङ्कमार्फत पुटिनलाई प्रतिवेदन दिँदै मुख्य उद्देश्य ‘आणविक हतियार प्रयोगको अनुमति प्रक्रियाको अभ्यास’ रहेको बताएका छन्।
अभ्यासका क्रममा पुटिन गोलो सेतो टेबलमा एक्लै बसिरहेका दृश्य सार्वजनिक भएका छन्। उनी सामु ठूला पर्दामा गेरासिमोभ र रक्षामन्त्री आन्द्रेई बेलोसोभ देखिएका थिए- सम्भावित युद्धको अवस्थामा यिनै तीन अधिकारीले आणविक हतियार प्रक्षेपणको आदेश दिने जिम्मेवारी पाउने बताइएको छ।
पुटिनले यो अभ्यास पहिल्यै तय गरिएको कार्यक्रमअन्तर्गत भएको स्पष्ट पार्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर बैठक स्थगित भएको घटनासँग कुनै प्रत्यक्ष सम्बन्ध नरहेको बताएका छन्। तर अभ्यास ट्रम्पले बुडापेस्टमा तय भएको भेट ‘समयको बर्बादी हुनसक्ने’ भन्दै स्थगित गरेको केही घण्टापछि सुरु भएको थियो।
गत हप्ता अमेरिकी पक्षले उक्त बैठकको घोषणा गरेको थियो। तर सोमबार अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रूसी विदेशमन्त्री सर्गेई लाभरोभबीच टेलिफोन वार्तापछि बैठक स्थगित गर्ने निर्णय गरिएको बताइन्छ।
लाभरोभले मंगलबारको टिप्पणीमा रूसले युक्रेनमा तत्काल युद्धविरामको विरोध गर्दै ‘स्थायी शान्ति वार्ता अघि परिस्थितिको स्पष्ट मूल्याङ्कन आवश्यक छ’ भनेका छन्।
यसैबीच, अमेरिकी राष्ट्रपति ट्रम्पले पनि युक्रेनसँग सम्बन्धित विषयहरू- विशेष गरी रुसद्वारा कब्जा गरिएका भूमि फिर्ता गर्ने प्रसङ्गमा गत वर्षदेखि आफ्नो धारणा क्रमशः परिवर्तन गर्दै आएको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन्।
क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले पुटिन–ट्रम्प बैठकलाई “गम्भीर तयारी आवश्यक हुने उच्चस्तरीय संवाद” भनेर व्याख्या गर्दै भने, “राष्ट्रपति पुटिन र राष्ट्रपति ट्रम्प दुवै अत्यन्त व्यस्त र परिणाममुखी नेताहरू हुन्। कसैले पनि समय खेर फाल्न चाहँदैन त्यसैले प्रभावकारी परिणामका लागि पर्याप्त तयारी अनिवार्य हुन्छ।”
कात्तिक ६, २०८२ बिहीबार १८:२८:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।