गुन्यालफाँटाको बादी बस्तीमा छैन तिहारको रौनक

गुन्यालफाँटाको बादी बस्तीमा छैन तिहारको रौनक

कञ्चनपुर : देशभर दीपावलीको उज्यालोले गाउँ–सहर झलमल्ल छाउँदा पनि कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ गुन्यालफाँटास्थित बादी बस्ती भने सुनसान छ। बस्तीका घरघरमा न त बत्तीको झिलिमिली छ, न त देउसी भैलोको रौनक।

बस्तीमा अहिले महिला, बालबालिका र वृद्धबृद्धा मात्रै छन्। अधिकांश युवा महिनौँअघि रोजगारीको खोजीमा भारत गएका हुन्। कोही बिदा नपाएर फर्कन सकेका छैनन्, कोहीले तलब नपाउँदा घर आउनै पाएनन्।

बस्तीकी रत्ना कुमाल (बादी) भन्छिन्, “बिहान–साँझको खाना जुटाउनै मुस्किल छ। तिहार आए पनि केही फरक परेको छैन। मिठो खाने, नयाँ लुगा लगाउने इच्छा सबैलाई हुन्छ, तर पेट पाल्न गाह्रो हुँदा चाडपर्व मनाउने सोच पनि आउँदैन।”

त्यस्तै, वृद्धा शान्ति कुमाल अहिले नाती–नतिनाको हेरचाहमै व्यस्त छन्। उनका छोरा र बुहारी भारतमा मजदुरी गर्न गएका एक महिनाभन्दा बढी भइसकेको छ। “तिहारमा फर्किन्छु भनेका थिए, तर तलबै नपाएर आउन सकेनन्,” उनी भन्छिन्।

पदमबहादुर राना (बादी) का अनुसार बस्तीमा ६२ घरधुरीमध्ये करिब २५ परिवार मात्रै अहिले घरमा छन्। बाँकी सबै भारततर्फ गएका छन्। “यहाँका परिवारसँग आधा वा एक कठ्ठा जग्गा मात्रै छ। काम नपाएर घरमा ताला लगाएर हिँड्नुपर्ने अवस्था छ,” उनले भने।

पहिले माटाका भाँडा, मादल बनाउने र चाडपर्वमा नाचगान गरेर गुजारा गर्ने बादी समुदायको परम्परागत पेशा अहिले लोप भइसकेको छ। “व्यवसाय नै हराएपछि आम्दानीका स्रोत पनि सकिए,” रानाले थपे, “सरकारले आयमूलक रोजगारीका अवसर सिर्जना गरे मात्रै हाम्रो जीवनमा परिवर्तन सम्भव छ, तर कसैले चासो दिएको छैन।”

शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता संविधानमै सुनिश्चित हकबाट पनि बादी समुदाय अझै टाढै रहेको उनीहरूको गुनासो छ।

बस्ती नजिकै बग्ने वनहरा नदीले हरेक वर्ष कटान गर्ने भएकाले उनीहरू विस्थापनको जोखिममा छन्। “वर्षामा नदीको डर, सुख्खा मौसममा पेट पाल्ने चिन्ता हाम्रो जीवन यस्तै चलिरहेको छ,” रत्ना कुमाल भन्छिन्।

दलित अधिकारकर्मी शिवी लुहारका अनुसार बादी समुदायलाई स्वरोजगार, सीपमूलक तालिम र आयमूलक कार्यक्रममार्फत आत्मनिर्भर बनाउन सके उनीहरूको जीवनस्तरमा सुधार आउन सक्छ। “तर त्यतातिर तीनै तहका सरकारको ध्यान पुगेको छैन,” उनले बताए।

कात्तिक ६, २०८२ बिहीबार १५:४७:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।