तिहारमा झिनियाँको माग ह्वात्तै बढ्यो, पाल्पाका व्यवसायीलाई भ्याइनभ्याई

रामपुर : तिहार नजिकिँदै गर्दा पाल्पाको रामपुरमा परम्परागत परिकार झिनियाँको माग ह्वात्तै बढेको छ। बजारमा माग अत्यधिक बढेपछि यहाँका व्यवसायीहरूलाई उत्पादन गर्न र मागअनुसार आपूर्ति गर्न भ्याइनभ्याई भएको छ।
रामपुर नगरपालिका-५, राङभाङका उद्यमी रुद्रनारायण श्रेष्ठ एक दशकदेखि यो व्यवसायमा छन्। उनका अनुसार, पछिल्लो समय तिहारमा दिदीबहिनीले दाजुभाइलाई सगुनका रूपमा झिनियाँ दिने चलन बढेकाले माग थेग्नै नसक्ने भएको हो।
‘उत्पादन गर्नै हम्मेहम्मे छ, बजारको कुनै चिन्ता छैन, उद्योगबाटै धमाधम बिक्री हुन्छ’, उनले भने।
श्रेष्ठ दम्पतीले सञ्चालन गरेको उद्योगमा छ जनाले रोजगारी पाएका छन्। यस वर्षको तिहारमा मात्रै करिब छ लाख रुपैयाँको कारोबार हुने उनको अनुमान छ। यहाँ उत्पादित झिनियाँ पाल्पा, स्याङ्जा, तनहुँ, नवलपुर, बुटवल, भैरहवा र चितवनसम्म पुग्ने गरेको छ।
रामपुर-४, सिर्जनाचोककी अर्की व्यवसायी विष्णु सारु पनि बजारको माग देखेर उत्साहित छिन्।
‘पहिले घरघरमा तिहारका लागि मात्र झिनियाँ बनाइन्थ्यो, तर अहिले बजारमा सजिलै पाइने भएपछि घरमा बनाउने चलन हरायो,’ उनी भन्छिन्, ‘त्यसैले व्यावसायिक उत्पादनको माग बढेको हो।’
हाल बजारमा झिनियाँ प्रतिकिलो खुद्रामा रु. १०० र थोकमा रु. ९० मा बिक्री भइरहेको छ। उद्यमीहरूका अनुसार, घरबाटै बिक्री हुने भएकाले बजार खोज्दै हिँड्नुपर्ने झन्झट छैन।
महिलाको आकर्षण बढ्दो
कम लगानीमा घरमै बसेर राम्रो आयआर्जन गर्न सकिने भएपछि यो व्यवसायमा महिलाहरूको आकर्षण बढेको छ।
घरधन्दा सकेर फुर्सदको समयमा झिनियाँ उत्पादन गरी महिलाहरू आर्थिक रूपमा आत्मनिर्भर बन्दै गएका छन्। झट्ट नबिग्रने भएकाले यसलाई भण्डारण गरेर अन्य समयमा पनि बिक्री गर्न सकिन्छ।
तिहारमा कोसेलीको रूपमा मात्र नभई विवाह, व्रतबन्ध, पूजाआजा तथा खाजाका रूपमा पनि झिनियाँको प्रयोग बढ्दै गएको छ।
चामलको पिठोलाई पकाएर मेसिनबाट तयार गरिने यो परिकारले घरेलु खाजाबाट व्यावसायिक उत्पादनको रूपमा फड्को मारेको छ।
कात्तिक ६, २०८२ बिहीबार ०९:४२:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।