१५ घण्टाको सकसपूर्ण यात्रा अब ३ घण्टामै, ७ वर्षपछि फेरियो बुटवल-नारायणगढ सडकको मुहार

१५ घण्टाको सकसपूर्ण यात्रा अब ३ घण्टामै, ७ वर्षपछि फेरियो बुटवल-नारायणगढ सडकको मुहार

बुटवल : सडक विस्तार शुरू भएको ७ वर्षपछि पूर्व-पश्चिम राजमार्गको बुटवल-नारायणगढ खण्डमा यात्रा सहज बन्दै गएको छ।

निर्माण कम्पनीको ढिलासुस्ती र लापरबाहीका कारण वर्षौंसम्म सास्तीपूर्ण बनेको यो सडकमा पछिल्लो समय यात्रामा उल्लेख्य सुधार आएको हो।

पूर्व-पश्चिम जोड्ने जीवनरेखा मानिने यो सडक समयमै निर्माण नहुँदा यात्रु, सवारी चालक र सडक किनारका स्थानीयहरू आजित बनेका थिए।

पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने यो सडकको सबैभन्दा जोखिमपूर्ण खण्ड दाउन्ने हो। पछिल्लो ६ महिनामा मात्रै दाउन्ने क्षेत्रमा १०० पटकभन्दा बढी सडक अवरुद्ध हुने र खुल्ने क्रम चलेको थियो। तर, हाल धेरैजसो स्थानमा कालोपत्रे सकिएपछि यात्रा सहज बनेको छ।

सडककै कारण कुनै समय १५ घण्टासम्म लाग्ने बुटवल-नारायणगढको यात्रा अहिले साढे दुईदेखि तीन घण्टामै पूरा हुन थालेको छ।

अहिले पनि दाउन्ने सडक खण्डमा काम जारी छ। उकालो बाटो र साँघुरा घुम्तीका कारण ठूला मालबाहक ट्रक/लहरीलाई यात्रा गर्न कठिन हुने दाउन्ने सडक खण्डलाई फराकिलो बनाइएको छ।

घुम्तीहरू काटेर ठूला बनाइएका छन् भने पहिरोको जोखिम भएका ठाउँमा मेसिनरी वाल लगाइएको छ। यसबाहेक कल्भर्ट र पर्खाल निर्माणको काम पनि जारी छ, जहाँ अझै ५ वटा कल्भर्ट निर्माणाधीन अवस्थामा छन्।

बुटवल-नारायणगढको कुल ११३ किलोमिटर सडक खण्डमध्ये अहिले ११ स्थानमा काम भइरहेको छ। बुटवल-नारायणगढ सडक विस्तार आयोजना (पूर्वी खण्ड) का सूचना अधिकारी इन्जिनियर शिव खनालले काम धमाधम भइरहेको बताए।

‘अहिले ११ स्थानमा काम भइरहेको छ। अब करिब ७ किलोमिटरमा मात्रै मुख्य कालोपत्रे बाँकी छ, अन्यत्र सम्पन्न भइसकेको छ, जसले गर्दा यात्रा सहज भएको हो’, उनले भने।

उनका अनुसार दाउन्नेको पूर्वी खण्डमा दुई तथा पश्चिम खण्डमा पाँच किलोमिटर सडक कालोपत्रे गर्न बाँकी छ।

मुख्य क्यारिज-वे (कालोपत्रे सडक) बाहेक सर्भिस लेन निर्माण, सडक संकेत राख्ने जस्ता काम हिउँदपछि शुरू गरिने उनले जानकारी दिए।

यो सडक विस्तारका लागि २०७५ माघ २४ मा सम्झौता भई २०७९ साउन २२ भित्र सम्पन्न गर्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले काम थालेको थियो। तर, ७ वर्ष बितिसक्दा पनि काम सकिएको छैन। चौथो पटक थपिएको म्याद आगामी साउन ८ गते सकिँदैछ।

आयोजनालाई नारायणगढ-दाउन्ने ६५ किलोमिटर (पूर्वी खण्ड) र बुटवल-दाउन्ने ४९ किलोमिटर (पश्चिम खण्ड) गरी दुई भागमा विभाजन गरेर काम अघि बढाइएको छ।

आयोजना (पश्चिम खण्ड) का प्रमुख पशुपति ज्ञवालीले धेरैजसो स्थानमा कालोपत्रे सकिएकाले पहिले जस्तो यात्रामा कठिनाइ नभएको बताउँछन्।

‘अहिले यात्रा धेरै सहज बनेको छ। दाउन्ने खण्डबाहेक अन्यत्र कठिनाइ छैन। दाउन्नेको काम पनि बढीमा ४ महिनामा पूरा हुनेछ’, उनले भने।

‘अन्यत्र मुख्य राजमार्गको काम लगभग सकिएकाले अहिले हामीले पनि निर्माण कम्पनीलाई दाउन्नेमा केन्द्रित हुन भनेका छौँ’, उनका अनुसार आयोजनाको समग्र भौतिक प्रगति ७४ प्रतिशत पुगेको छ।

एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा निर्माण भइरहेको यो आयोजनाको कुल लागत १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ छ।

कुल ११३ किलोमिटरमध्ये ७० किलोमिटर चार लेन, २९ किलोमिटर चार लेनसहित दुवैतर्फ ६-६ मिटरको सर्भिस लेन र दाउन्नेको १४ किलोमिटर सडक तीन लेनको हुनेछ।

सहज यात्राले यात्रुमा खुसी
चाडपर्वमा झनै व्यस्त हुने यो सडकमा जामका कारण यात्रुहरूले १५ घण्टासम्म अलपत्र पर्नुपरेको थियो।

तर, अहिलेको सहजताले उनीहरूमा खुसी छाएको छ। अरुणखोलाबाट बुटवल आएका हरि लम्सालले पहिलेको तुलनामा यात्रा निकै सहज भएको बताए।

‘पहिले जामको डरले यात्रा नै नगरौँ जस्तो लाग्थ्यो, तर अहिले सवा घण्टामै बुटवल आइपुगियो,’ उनले भने, ‘राज्यले गम्भीर बनेर दाउन्ने क्षेत्रको काम छिटो सकाए यात्रा अझै सहज हुने थियो।’

यस्तै, बुटवलबाट काठमाडौं पुगेका कृष्ण गौतमले पनि यात्रा सहज भएको अनुभव सुनाए।

‘कुनै बेला दाउन्नेमा सडक बिग्रिँदा बुटवलबाट काठमाडौं आउन २२ घण्टा पनि लाग्यो, तर अहिले सजिलैसँग आइपुगियो’, उनले भने।

निर्माण कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनका ठेक्का व्यवस्थापक राकेश झाले पनि हाल यात्रा साढे दुई घण्टामै सम्भव भएको बताए।

सडकका कारण सबैभन्दा मर्कामा व्यवसायी
समयमै सडक निर्माण नहुँदा सबैभन्दा बढी मारमा यातायात व्यवसायी परेका छन्।

सडकका खाल्डाखुल्डी, लामो जामका कारण करोडौँका सवारी साधन छिट्टै बिग्रने र इन्धन खपत बढ्ने हुँदा व्यवसायीले ठूलो आर्थिक क्षति व्यहोरेका छन्।

पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल भन्छन्, ‘एक व्यवसायीले करोडभन्दा बढी लगानी गरेर एसी बस चलाएको हुन्छ, तर सडकका कारण काठमाडौं जाँदा उठ्ने भाडाले गाडी मर्मत, इन्धन र कर्मचारी खर्च धान्न पनि मुस्किल छ। एक पटक काठमाडौं पठाउँदा कुनै न कुनै सामान बिग्रिएकै हुन्छ।’

उनका अनुसार सडककै कारण इन्धन खपत पनि ह्वात्तै बढेको छ।

‘पहिले ८० लिटर डिजेल लाग्ने दूरीमा अहिले बाटोका कारण १४० लिटरसम्म खपत हुन्छ’, उनले भने।

बाटो खराब हुँदा नयाँ गाडीसमेत एक वर्षमै थोत्रो हुने र पाँच वर्ष टिक्नुपर्ने पार्टपुर्जा एक वर्षमै फेर्नुपर्ने बाध्यता रहेको उनको गुनासो छ।

‘७ वर्षसम्म यो सडकले हामीलाई धुरुक्कै रुवायो, दाउन्नेमा अझै पनि सास्ती कायमै छ’, उनले भने।

कात्तिक ६, २०८२ बिहीबार ०८:४७:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।