विपिनको स्मरण

विपिनको स्मरण

तिहारको बेला
सबैका घर झिलिमिली,
तर उनको घर उज्यालो छैन।

लक्ष्मी पूजाको दिन
आँगनमा टुप्लुक्कै आइपुग्यो
काठको बाकस,
नेपाली झण्डा र फूलहरूसँग सजिएर।
तर उनी भित्र सुतेका थिए...

जहाज चढेर
गएका विपिन
घर फर्किए,
तर,
कफिनमा बन्द भएर।

बंकरभित्रको त्यो रात
कसरी बाँचे उनले?
बारुद र चिहानबीचको सीमामा
कसरी चिच्याए,
कसरी रोए,
कसरी देश सम्झिए?

उनले दुई वर्ष
झेलेका बंकरका दुःखहरू
अब कहिल्यै सुनाउने छैनन्,
आमा-बुबा

बहिनीलाई।

त्यो बंकरभित्रको रात कस्तो थियो?
कसरी बन्धक भए?
कहाँ लगे?
कसरी राखे?
कति पीडा दिए?

हमास-इजरायल
युद्धले ल्यायो विपिनको शव।
विपिनको चितासँगै
जल्यो परिवारको सपना।

विपिनजस्तै
परदेश गएकाहरू
कफिनमा फर्किनु नपरोस्।

दाइभाइ सम्झेर
भाइटीकामा
चेली रुनु नपरोस्।

कात्तिक ६, २०८२ बिहीबार ०८:२७:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।