भरतपुरमा डिभाइडरमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, चालक घाइते

चितवन : चितवनको भरतपुरमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्। भरतपुर महानगरपालिका-१२ गोन्द्राङमा मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किँदा उक्त दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, टाँडीबाट गोन्द्राङतर्फ जाँदै गरेको ग १० प ६१२२ नम्बरको मोटरसाइकल बिहान सवा ४ बजेतिर अनियन्त्रित भई सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएको थियो।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार तनहुँ देवघाट गाउँपालिका-२ घर भई हाल नवलपुरको गैंडाकोटमा बस्दै आएका ४४ वर्षीय टंक प्रसाद थापा गम्भीर घाइते भएका थिए। उनको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचारका क्रममा बिहान ४:४४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक नवलपुर गैंडाकोट नगरपालिका-१ का २६ वर्षीय केशव घर्ती मगर पनि घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको र सोही अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनास्थल गोन्द्राङ प्रहरी चौकीबाट करिब २० मिटर पूर्वमा पर्दछ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
कात्तिक ६, २०८२ बिहीबार ०८:२०:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।