श्रीलंकाका विपक्षी नेताको उनकै कार्यालयमा गोली हानी हत्या
कोलम्बो : श्रीलंकाका विपक्षी नेता लसान्था विक्रमेसेकेराको बुधबार उनकै कार्यालयमा गोली हानी हत्या गरिएको छ। प्रहरीका अनुसार, वेलिगामा सहरका परिषद् अध्यक्षसमेत रहेका ३८ वर्षीय विक्रमेसेकेराको हत्या भएको हो।
उनी आफ्नो कार्यालयमा सर्वसाधारणसँग भेटघाट गरिरहेका बेला एक बन्दुकधारी भित्र पसेर रिभल्भरबाट उनीमाथि अन्धाधुन्ध गोली प्रहार गरेको थियो। आक्रमणमा अन्य कोही घाइते भएनन्।
आक्रमणकारी घटनास्थलबाट भाग्न सफल भएको र उसको खोजीका लागि व्यापक अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ। हत्याको उद्देश्य भने अझै खुल्न सकेको छैन।
विक्रमेसेकेरा विपक्षी दल समागी जन बलवेगयाका सदस्य थिए। उनको पार्टी र सत्तारुढ दलबीच वेलिगामा परिषद्को नियन्त्रणलाई लिएर राजनीतिक द्वन्द्व चलिरहेको थियो।
पछिल्लो समय श्रीलंकामा हिंसात्मक अपराधका घटनाहरू बढेका छन्, जसमध्ये अधिकांश लागुऔषध गिरोह र संगठित अपराधसँग जोडिएका छन्। आधिकारिक तथ्याङ्कअनुसार, यस वर्ष मात्रै १०० भन्दा बढी गोलीकाण्डका घटनामा कम्तीमा ५० जनाको मृत्यु भइसकेको छ।
गत वर्ष राष्ट्रपति अनुरा कुमारा दिसानायकेको सरकार सत्तामा आएपछि राजनीतिक व्यक्तिको हत्या भएको यो पहिलो घटना हो। राष्ट्रपति दिसानायकेले देशमा कानुन र व्यवस्था पुनर्स्थापित गर्ने प्रतिबद्धता जनाएका थिए।
कात्तिक ६, २०८२ बिहीबार ०७:५३:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।