साउदी अरबमा ७० वर्ष पुरानो ‘कफाला’ प्रणाली अन्त्य, १ करोड ३० लाखभन्दा बढी आप्रवासी कामदारलाई राहत
एजेन्सी : साउदी अरबले करिब ७० वर्षदेखि लागू रहेको विवादास्पद ‘कफाला प्रणाली’ अन्त्य गरेको छ।
यो परिवर्तनसँगै अब देशमा काम गर्ने विदेशी कामदारको पासपोर्ट रोजगारदाताले जफत गर्न पाउने छैनन्। साथै, कामदारहरूको अधिकार सुरक्षित गर्न नयाँ नियमहरू पनि लागू गरिएको छ।
एपीको रिपोर्टअनुसार, यो ऐतिहासिक परिवर्तनको घोषणा पहिले नै गरिएको थियो।
कफाला प्रणालीको अन्त्यबाट साउदी अरबमा कार्यरत १ करोड ३० लाखभन्दा बढी विदेशी कामदारहरू लाभान्वित हुनेछन्, जसमा भारत, बंगलादेश, नेपाल र फिलिपिन्सका कामदारहरूको ठूलो संख्या छ।
के थियो कफाला प्रणाली?
‘कफाला’ अरबी शब्द ‘कफिल’ बाट बनेको हो, जसको अर्थ ‘प्रायोजक’ वा ‘जिम्मेवार व्यक्ति’ हुन्छ। यो प्रणालीमा कुनै पनि विदेशी कामदार साउदी अरबमा काम गर्नका लागि एक स्थानीय ‘कफिल’ वा रोजगारदाताको मातहतमा रहनुपर्थ्यो।
सन् १९५० को दशकमा खाडी देशहरूमा तेल उद्योगको विकाससँगै ठूलो संख्यामा विदेशी कामदारको आवश्यकता पर्यो। तिनै कामदारहरूलाई नियन्त्रण गर्न यो प्रणाली बनाइएको थियो, जसले रोजगारदाता (कफिल) लाई असीमित अधिकार दिएको थियो।
साउदी अरबले यो प्रणाली अन्त्य गरे पनि मध्यपूर्वका अन्य देशहरू जस्तै: युएई, कुवेत, ओमान, बहराइन, लेबनान र जोर्डनमा यो अझै पनि कुनै न कुनै रूपमा अस्तित्वमा छ।
कफाला प्रणालीका मुख्य समस्याहरू
मानवअधिकारवादी संस्थाहरू र अन्तर्राष्ट्रिय श्रम संगठनले दशकौंदेखि कफाला प्रणालीको आलोचना गर्दै यसलाई ‘आधुनिक दासता’को संज्ञा दिएका थिए। यसले कामदारहरूलाई जबर्जस्ती श्रम र मानव तस्करीको जोखिममा पारेको थियो।
यसका मुख्य ३ समस्याहरू थिए, जसमा पहिलो जागिर फेर्न प्रतिबन्ध लगाइएको थियो। रोजगारदाताले दुर्व्यवहार गरे, कम तलब दिए वा १८-१८ घण्टा काम लगाए पनि कामदारले सजिलै जागिर छोड्न पाउँदैनथे। नयाँ काम सुरु गर्न पुरानो कफिलको अनुमति अनिवार्य थियो। अनुमति बिना काम छोडेमा कामदारलाई ‘अवैध’ मानेर पक्राउ गरिन्थ्यो।
यसका अलावा कामदारहरू आफ्नो इच्छाले देश छोडेर घर फर्कन पाउँदैनथे। पारिवारिक आपत्कालीन अवस्थामा पनि देशबाहिर जान रोजगारदाताबाट ‘एक्जिट भिसा’ लिनुपर्थ्यो, जुन प्रायः अस्वीकार गरिन्थ्यो।
साथै कामदारहरूलाई बन्धकजस्तै बनाउन रोजगारदाताले उनीहरूको पासपोर्ट जफत गरेर राख्थे, जसले गर्दा उनीहरू पूर्ण रूपमा रोजगारदाताको नियन्त्रणमा हुन्थे।
कफालाको सट्टामा नयाँ नियम लागू
कफाला प्रणाली खारेज गरेपछि साउदी अरबले कामदारहरूलाई थप स्वतन्त्रता दिने नयाँ नियमहरू लागू गरेको छ। जसमा अब कामदारले आफ्नो रोजगारदाताको अनुमति बिना नै जागिर परिवर्तन गर्न पाउनेछन् भने देश छोड्न वा घर फर्कनका लागि ‘एक्जिट भिसा’ वा रोजगारदाताको अनुमति आवश्यक पर्ने छैन।
तलब नपाएमा वा कार्यस्थलमा दुर्व्यवहार भएमा कानुनी सहायता लिन र उजुरी गर्न सहज बनाइएको छ भने रोजगार सम्झौतालाई लिखित र स्पष्ट बनाइएको छ, जसमा कामको अवधि, तलब, सुविधा तथा दुवै पक्षको अधिकार उल्लेख गर्न अनिवार्य गरिएको छ।
साउदीले कफाला प्रणाली किन अन्त्य गर्यो?
यो निर्णय पछाडि चार मुख्य कारणहरू छन्। जसमा पहिलो त छवि सुधार्ने प्रयास हो। कफाला प्रणालीका कारण साउदी अरबको अन्तर्राष्ट्रिय स्तरमा आलोचना भइरहेको थियो। आफ्नो छवि सुधार्न यो कदम चालिएको हो।
साथै युवराज मोहम्मद बिन सलमानको ‘भिजन २०३०’ अन्तर्गत साउदी अरब आफ्नो अर्थतन्त्रलाई तेलमाथिको निर्भरताबाट बाहिर निकाल्न चाहन्छन्। यसका लागि विदेशी लगानी आकर्षित गर्न श्रम कानुनमा सुधार आवश्यक थियो।
यसका अलावा साउदी अरबको श्रम बजारमा ७० प्रतिशत भन्दा बढी विदेशी कामदार छन्। कफाला प्रणालीका कारण नयाँ कामदार आउन हिचकिचाउने र पुराना फर्कन थालेपछि सरकारले प्रणाली परिवर्तन गरेको हो।
यसका साथै कतारले २०२२ को फिफा विश्वकपअघि कफाला प्रणालीमा सुधार गरेर अन्तर्राष्ट्रिय प्रशंसा पाएको थियो। यस प्रतिस्पर्धामा पछि नपर्न साउदी अरबले पनि यो कदम चालेको बताइएको छ।
साउदी अरबको कुल जनसंख्याको करिब ४२ प्रतिशत अर्थात् १ करोड ३४ लाख विदेशी कामदार रहेका छन्। यो नयाँ नियमले उनीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।
कात्तिक ६, २०८२ बिहीबार ०७:४२:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।