तिहारको उज्यालोमा चम्कियो धरान, बजारमा २० प्रतिशतले बढ्यो व्यापार

धरान : फेसन र सांस्कृतिक विविधताले चिनिने धरान शहर तिहारको उज्यालोमा झिलिमिली बनेको छ।
घरदेखि सडकसम्म बालिएका रंगीचंगी बत्तीले शहरको सौन्दर्य बढाएको छ भने फूलमालाको सुगन्ध र बजारको चहलपहलले उत्सवको रौनक थपेको छ।
तिहारलाई उज्यालोको पर्व मानिए पनि समयसँगै उज्यालोको स्वरूप फेरिएको छ। परम्परागत माटाका दियो र मैनबत्तीको ठाउँमा आधुनिक विद्युतीय बत्तीको प्रयोग बढेको छ, जसले बजारमा यस्ता बत्तीको माग ह्वात्तै बढाएको छ।
व्यवसायी सुलिन श्रेष्ठका अनुसार, परम्परागत दियो र मैनबत्ती लगभग विस्थापित भइसकेका छन्।
‘पहिले दियो र मैनबत्तीकै चलन थियो, तर अहिले विद्युतीय सामग्रीको पहुँचले सबै फेरिएको छ,’ उनी भन्छन्,’ तिहारमा झिलिमिली बत्तीको व्यापार निकै हुन्छ। दैनिक ५० देखि ६० हजार रुपैयाँसम्मको बत्ती र सजावटका सामग्री बिक्री भइरहेका छन्।’
पछिल्लो समय बत्तीको डिजाइन र शैलीमा पनि नयाँपन खोज्न थालिएको छ। अर्का व्यापारी कृष्ण यादवका अनुसार, ग्राहकहरू सामाजिक सञ्जालमा देखेर नयाँ डिजाइनका बत्ती किन्न आउँछन्।
‘यस वर्ष एलइडी स्ट्रिङ, रिमोट कन्ट्रोलबाट चल्ने बत्ती र नयाँ खालका झिलिमिलीको माग बढी छ,’ उनले भने, ‘ग्राहकहरू अब घरको झ्याल, छत र बगैँचा समेत सजाउन डिजाइन र रङ मिलाएर सामान खरिद गर्छन्।’
बढ्दो आकर्षणले बजारमा आर्थिक गतिविधि समेत बढाएको छ। सुनसरी उद्योग वाणिज्य सङ्घका महासचिव प्रभाव खतिवडा गत वर्षको तुलनामा यसपालि तिहारको व्यापार करिब २० प्रतिशतले बढेको अनुमान गर्छन्। उनका अनुसार मिठाई, फूलमाला, बत्ती र अन्य सजावटका सामग्रीको बिक्री उल्लेख्य रूपमा बढेको छ।
‘फूल, माला, बत्ती र उत्सवको यो माहोलले धरानलाई साँच्चिकै उज्यालो सहर बनाएको छ,’ खतिवडाले भने, ‘यसले धरानलाई सांस्कृतिक र आर्थिक दुवै हिसाबले नयाँ ऊर्जा र चमक दिएको छ।’
कात्तिक ६, २०८२ बिहीबार ०७:२६:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।