गौरमा करेन्ट लागेर पूर्व वडाअध्यक्ष यादवको मृत्यु

रौतहट : रौतहटको गौर नगरपालिका-५ का पूर्व वडाअध्यक्ष रामस्वार्थ राय यादवको करेन्ट लागेर मृत्यु भएको छ। बुधबार दिउँसो आफ्नै करेसाबारीमा विद्युतीय मोटरबाट सिँचाइ गर्ने क्रममा उनलाई करेन्ट लागेको हो।
करेन्ट लागेर अचेत भएपछि उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो। तर, उपचारका क्रममा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
अस्पतालका चिकित्सकले यादवलाई अपराह्न ४:३० बजे मृत घोषित गरेका थिए। उनको शव पोस्टमार्टमका लागि अस्पतालमै राखिएको छ।
नेकपा एमाले रौतहटका जिल्ला कमिटी सदस्यसमेत रहेका यादव स्थानीय स्तरमा एक सक्रिय राजनीतिज्ञ तथा समाजसेवीका रूपमा परिचित थिए।
कात्तिक ६, २०८२ बिहीबार ०७:१४:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।