जलिरहेको संसद् भवनको धुवाँमा घेरिँदै निश्चलले भनेको "नयाँ युगको सुरुवात, थ्याङक्यु" भाइरल

जलिरहेको संसद् भवनको धुवाँमा घेरिँदै निश्चलले भनेको

काठमाडौं : विध्वंस भएको जेन-जी आन्दोलनको दोस्रो दिन नयाँ बानेश्वर क्षेत्रमा जलिरहेको संसद् भवनको धुवाँको बिचमा निर्देशक निश्चल बस्नेत खुसी हुँदै नयाँ युगको प्रारम्भ भएको भन्दै जेन-जीलाई धन्यवाद दिएको भिडियो सार्वजनिक भएको छ।

काठमाडौंमा त्यो दिन संसद् भवनसँगै सर्वोच्च अदालत, सिंहदरबार लगायतका महत्त्वपूर्ण संरचनामा आगलागी भएको थियो। त्यसले काठमाडौं पुरै धुवाँले ढाकेको थियो। 

निश्चलको दोस्रो भिडियोमा काठमाडौंमा उडिरहेको धुवाँ हिजोको अव्यवस्था गर्ने नेताहरूको अहङ्कारको धुवाँ भएको भन्दै भाषण गरेका छन्।

भिडियो भाइरल भएसँगै निश्चलमाथि भदौ २४ को विध्वंसमा संलग्न भएर संसद् भवन जल्दा खुसी भएको भन्दै आलोचना भइरहेको छ। बुधवारै निश्चलसहितको एक टोलीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटेका थिए।

निश्चल पछिल्लो समय नयाँ राजनीतिक शक्ति निर्माणमा सक्रिय छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता पुकार बम यही टोलीमा संलग्न छन्। बम बुधवार प्रधानमन्त्री कार्की भेट्ने कलाकारको टोलीमा पनि सहभागी थिए।

भिडियो भाइरल भएसँगै आलोचना बढेपछि निश्चलले सामाजिक सञ्जालमा स्पष्टीकरण लेख्दै आन्दोलनमा सहभागी भए पनि तोडफोडमा संलग्न नभएको दाबी गरेका छन्। उनले आफूले ढुंगा हानेको कि रोकेको भन्नेबारे छानबिन गर्न माग गरेका छन्।

कात्तिक ६, २०८२ बिहीबार ०१:१४:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।