रास्वपा नेतासँगै कलाकारको टोली बोकेर बालुवाटार पुगेका निर्देशक निश्चलले प्रधानमन्त्रीलाई भने “हामी छौँ, नडराउनू”

रास्वपा नेतासँगै कलाकारको टोली बोकेर बालुवाटार पुगेका निर्देशक निश्चलले प्रधानमन्त्रीलाई भने “हामी छौँ, नडराउनू”

काठमाडौँ : जेन-जी आन्दोलनमा सहभागी भएका र त्यसपछि नयाँ राजनीतिक शक्तिको निर्माणमा जुटेका केही कलाकारहरूले अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर सरकारलाई सहयोग चाहिए आफूहरू तयार रहेको बताए। कलाकारहरुको टोलीमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता पुकार बम समेत सहभागी थिए।

पछिल्लो समय बम र बस्नेत मिलेर वैकल्पिक राजनितीक शक्तीको निर्माणको प्रयास गरिरहेका छन्। उनीहरुले कलाकारहरुसँगै विभिन्न दलमा आवद्ध युवा नेताहरुसँगको संवाद बढाएका छन्। त्यहीक्रममा उनीहरु बुधवार बालुवाटार पुगेका थिए। कलाकारहरुको संख्या बढी भए पनि भेटको प्रशंग राजनीतिक थियो।

भ्रष्टाचारविरुद्धको कारबाही र आगामी निर्वाचनलाई प्राथमिकता दिएर अगाडि बढ्दा सरकारलाई अप्ठ्यारो परे सहयोगका लागि आफूहरू तयार रहेको उनीहरूले बताएका थिए।

बुधवार निश्चल बस्नेत, विपिन कार्की, कालीप्रसाद बास्कोटा,  ऋचा शर्मा लगायतका कलाकारहरू प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगेका थिए।

 “अब के पो हुन्छ भनेर हामीलाई डर लागिरहेका बेला सम्हाल्न हजुर आउनुभएको छ”, अभिनेतृ ऋचा शर्माले भने, “हामीलाई ढुक्क भएको छ। यहाँको सरल, सादगीपूर्ण र स्पष्टवक्ता शैलीका कारण पनि भरोसा जागेको छ।”

अहिले सार्वजनिक अभिव्यक्ति र व्यवहारका कारण गृहमन्त्री ओमप्रकाश अर्याल आलोचनाको केन्द्रमा छन्। सरकारको अनुसन्धानको दायरामा नभएका नेता भारत जाँदा भागेको दाबी गर्ने, जाँचबुझ आयोगको कार्यक्षेत्रको विषयमा आफैँ टिप्पणी गर्ने लगायतका उनका गतिविधिप्रति राजनीतिक दलका नेताहरूले तीव्र असन्तुष्टि जनाइरहेका छन्।

तर अभिनेता विपिन कार्कीले भने गृहमन्त्रीका केही दिनका अभिव्यक्तिले सरकार डराएको छैन भन्ने अनुभूति भएको दाबी गरे। उनले भेटमा सरकारप्रति थप विश्वास र आशा जागेको भन्दै अझै सरकार दरिलो रहेछ भन्ने अनुभूति गर्न पाउ भनेका थिए।

जेन-जी आन्दोलनसँगै पछिल्लो समय नयाँ राजनीतिक शक्ति निर्माणमा संलग्न रहेका अभिनेता तथा निर्देशक निश्चल बस्नेतले आफू सही धरातलमा छु भन्ने लागेको छ भने कसैसँग डराउनुपर्दैन भन्दै प्रधानमन्त्री कार्कीलाई ढुक्कसँग अघि बढ्न भने।

“तपाईँको पक्षमा हामी छौँ। देशलाई थप अप्ठ्यारो आउन नदिन यतिखेर राष्ट्रिय एकताको खाँचो छ। सरकारलाई सहयोगको खाँचो छ” उनले भने।

सङ्गीतकार कालीप्रसाद बाँस्कोटाले समाज भड्काउन सजिलो रहेको तर सम्हाल्न गाह्रो रहेको भन्दै अहिले भड्काउन खोज्नेहरू बढी देखिएको बताएका थिए।

“त्यस्ता तत्त्वहरूप्रति सचेत रहँदै सम्हाल्ने र सम्हालिने समय हो यो” उनले भेटमा भनेका थिए।

प्रधानमन्त्री कार्कीले कलाकारहरूसँग वर्तमान समयमा सबैको साथ आवश्यक भएको भन्दै  सामाजिक सञ्जालतिर भइरहेको दुष्प्रचार चिर्न कलाकारहरूको सहयोग मागेकी थिइन्।

भेटमा विजय बराल, सुजित बिडारी,  शान बस्न्यात, दिव्यदेव पन्त, कर्मालगायत पनि सहभागी थिए।

कात्तिक ५, २०८२ बुधबार १९:५३:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।