खस्किएको जनाधार फर्काउन जेन–जी पुस्ता फकाउँदै प्रचण्ड: माओवादीसँग मिलेर चुनाव लड्न आग्रह

महोत्तरी : जेन–जी पुस्तामाझ आफ्नो राजनीतिक पकड बलियो बनाउने प्रयासमा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ खुलेर मैदानमा उत्रिएका छन्।
जेन-जी पुस्ताको आन्दोलनको सकारात्मक माहौल आफ्नो पक्षमा ल्याउन उनी निरन्तर जेन-जी पुस्तालाई फकाउन सक्रिय छन्। जेन-जी पुस्ताको आन्दोलन कुनै दल विशेष भन्दा पनि पुराना दलको कार्यशैली र नेतृत्व परिवर्तन केन्द्रित थियो। तर प्रचण्ड पार्टीको नेतृत्व छाड्ने पक्षमा छैनन्।
पार्टी नेतृत्व गुम्न नदिन उनले आफ्नै नेतृत्वमा विशेष महाधिवेशन आयोजक समिति गठन गरेका छन्। तर उनले जेन-जी आन्दोलन काङ्ग्रेस-एमाले गठबन्धन विरुद्ध भएको सन्देश दिन निरन्तर सक्रिय छन्।
केही जेन-जीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको माग गरिरहेका छन्। प्रचण्डले ती माग माओवादीको भएको दाबी गर्दै आएका छन्।
उनले बुधवार महोत्तरीको रामगोपालपुरमा आयोजित सभामा प्रत्यक्ष रूपमा जेन–जी युवाहरूलाई माओवादीसँग मिलेर चुनाव लड्न आह्वान गर्दै माओवादीलाई ‘जेन–जीका माग पूरा गर्न सक्ने एकमात्र शक्ति’का रूपमा प्रस्तुत गरे।
“अब जेन–जी युवाहरू र माओवादी मिलेर चुनाव लड्नुपर्छ अनि मात्रै जेन–जीका माग पूरा हुन सक्छन्,” प्रचण्डले भने, “अरू कसैले जेन–जीका माग पूरा गर्दैन।”
'जेन–जीको मुद्दा माओवादीको एजेन्डा हो’
प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र समावेशी लोकतन्त्रका एजेन्डा माओवादीका पुराना मुद्दा भएको उल्लेख गर्दै भने,“जो प्रत्यक्ष निर्वाचित कार्यकारी र समानुपातिक प्रणालीको विरोध गर्छ, उसले जेन–जी युवाहरूको भावना बुझ्न सक्दैन।”
उनले जेन–जीका मागहरूलाई आफ्नो पुरानो आन्दोलन र नीतिसँग जोड्दै युवालाई माओवादीको निरन्तरता र आफ्नो नेतृत्वप्रति सहानुभूति देखाउन आग्रह गरे।
'मित्र र बैरी चिन्नुहोस्’
प्रचण्डले युवाहरूलाई राजनीतिक रूपले सचेत रहन र ‘मित्र र बैरी’ छुट्टाउन आग्रह गरे।
“आफ्ना अभिभावकलाई दुस्मन ठान्ने र दुस्मनलाई मित्र ठान्ने गल्ती नगर्नुहोस्,” उनले भने, “देशका लागि त्यो भन्दा ठूलो दुर्भाग्य केही हुन सक्दैन।”
जनयुद्धदेखि जेन–जीसम्म
प्रचण्डले आफू पनि जनयुद्ध र जनआन्दोलनका समयमा जेन–जी पुस्ताकै प्रतिनिधि रहेको भन्दै युवासँग आत्मीयता जोड्ने प्रयास गरे।
“हिजो हामीले जनयुद्ध र जनआन्दोलन गर्दा हामी पनि जेन–जी नै थियौँ,” उनले भने, “आजको यो ठूलो उपस्थितिले देखाएको छ, जेन–जी पुस्ता फेरि माओवादी केन्द्रतिर फर्किंदैछ।”
कात्तिक ५, २०८२ बुधबार १८:४५:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।