दलहरूसँगको बैठकमा प्रधानमन्त्री कार्कीले भनिन्"जेनजीले पुरै गर्न नसकिने माग राखेर हैरान बनाए, मिलेर सम्झाऔँ"

दलहरूसँगको बैठकमा प्रधानमन्त्री कार्कीले भनिन्

काठमाडौं : निर्वाचनबारे छलफल गर्न बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले जेनजी पुस्ताको प्रतिनिधिहरूलाई सम्झाउन दलको साथ खोजिन्। 

बैठकमा उनले जेन-जी प्रतिनिधि छरिएकाले उनीहरूसँग संवाद गर्न सरकारलाई अप्ठ्यारो परिरहेको भन्दै जायज माग सम्बोधन गरेर उनीहरूलाई सम्झाउन दलहरूले पनि सरकारलाई साथ दिनुपर्ने बताएकी थिइन्।

"जेन-जी भाइ बहिनीहरूले धेरै पढेछन्। के-के माग लिएर आइरहन्छन्" कार्कीको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी स्रोतले भन्यो " पुरै गर्न नसकिने माग राखेर हैरान पार्छन्। उनीहरूलाई सम्झाउन दलहरूले सहयोग गर्नुपर्यो।"

प्रधानमन्त्रीले अनौपचारिक छलफलमा जेन-जीबारे आफ्नो कुरा राखे पनि दलका प्रतिनिधिले त्यसबारे खासै चासो दिएनन्। औपचारिक बैठकमा भने दलका नेताहरूले जेन-जीको नाममा सक्रिय केही व्यक्तिले समानान्तर सरकार चलाएझैँ व्यवहार गर्दा पनि नियन्त्रणमा सरकारले चासो नदेखाएको भन्दै आलोचना गरेका थिए।

"जेन-जी आन्दोलनमा उठेको मागमा सहमत छौँ। हाम्रो असहमति भदौ २४ को तोडफोड र आगजनीका घटनामा हो," छलफलमा दलका प्रतिनिधिले उठाएको विषय उद्धृत गर्दै स्रोतले भन्यो" तर जेन-जीको नाममा सरकार झैँ व्यवहार गर्नेलाई सरकारले नै प्रोत्साहित गरिरहेको देखिन्छ। यसले शान्ति सुरक्षाको माहौल सुध्रिँदैन।"

दलका नेताहरूले कुनै जेन-जी नेताको नाम लिएनन्। तर उनीहरूले आपत्ति जनाएका व्यक्ती देखिए सुधन गुरूङग। सरकार एकातिर चुनाव गराउँछु भन्ने तर अर्कोतिर दलका नेताहरूलाई चुनावमा उठ्दै दिन्न भन्नेको संरक्षण गर्ने भन्दै एमाले नेताहरूले आपत्ति जनाएका थिए।

गुरुङले सार्वजनिक रूपमै दलका नेतामाथि भ्रष्टाचारको मुद्दा लगाएर चुनावमा उम्मेदवार नै बन्न नदिने बताउँदै आएका छन्। 

कात्तिक ५, २०८२ बुधबार १३:०१:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।