वेस्ट इन्डिजको विश्व कीर्तिमान : ५० ओभर नै स्पिन बलिङ गर्दै बंगलादेशलाई सुपर ओभरमा हरायो

काठमाडौं : वेस्ट इन्डिजले पुरुष एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५० ओभर नै स्पिनरबाट बलिङ गराएर विश्व कीर्तिमान बनाएको छ।
बंगलादेशविरुद्धको दोस्रो एकदिवसीय खेलमा यो अनौठो रणनीति अपनाएको वेस्ट इन्डिजले रोमाञ्चक खेल सुपर ओभरमा जित्दै शृङ्खला १-१ को बराबरीमा ल्याएको छ।
शेर-ए-बांग्ला स्टेडियमको स्पिन-मैत्री पिचलाई ध्यानमा राखेर वेस्ट इन्डिज व्यवस्थापनले यो रणनीतिक निर्णय लिएको हो। टोलीमा रहेका एक मात्र तीव्र गतिका बलर जस्टिन ग्रीभ्सलाई कप्तान शाई होपले बलिङमा बोलाएनन्।
यसअघि पुरुष एकदिवसीय खेलमा एउटै इनिङ्समा स्पिनरले सबैभन्दा बढी ४४ ओभर बलिङ गरेको कीर्तिमान थियो, जुन श्रीलंकाले बनाएको थियो।
समग्रमा (पुरुष र महिला) भने यो कीर्तिमान श्रीलंकाली महिला टोलीको नाममा थियो, जसले सन् २००४ मा भारतविरुद्ध ४७ ओभर स्पिन बलिङ गरेको थियो।
खेलमा पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा ७ विकेट गुमाएर २१३ रन बनाएको थियो। वेस्ट इन्डिजका लागि गुडाकेश मोतीले ३ विकेट लिए भने एलिक एथानाजले १० ओभरमा मात्र १४ रन दिएर २ विकेट लिँदै सबैभन्दा किफायती बलर साबित भए।
जवाफमा कप्तान शाई होपको ५३ रनको मद्दतले वेस्ट इन्डिजले पनि २१३ रन नै बनायो र खेल सुपर ओभरमा गयो।
सुपर ओभरमा वेस्ट इन्डिजले पहिले ब्याटिङ गर्दै १० रन बनायो। जवाफमा अकिल हुसेनले दुई वाइड र नोबल गरे पनि उत्कृष्ट पुनरागमन गर्दै बंगलादेशलाई ९ रनमा रोके र आफ्नो टोलीलाई १ रनको अविस्मरणीय जित दिलाए।
यो जितसँगै ३ खेलको शृङ्खला १-१ को बराबरीमा पुगेको छ। निर्णायक तेस्रो खेल अक्टोबर २३ मा यही मैदानमा हुनेछ।
कात्तिक ५, २०८२ बुधबार ०९:४९:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।