नेपाल संवत् मौलिकता र राष्ट्रियताको प्रतीक हो : प्रधानमन्त्री कार्की

नेपाल संवत् मौलिकता र राष्ट्रियताको प्रतीक हो : प्रधानमन्त्री कार्की

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संवत् नेपाली मौलिकता, राष्ट्रियता र सामाजिक न्यायको जीवन्त प्रतीक भएको बताएकी छन्।

नेपाल संवत् ११४६ को अवसरमा ललितपुरको मंगलबजारमा आयोजित न्हूदँ समारोहलाई सम्बोधन गर्दै उनले शंखधर साख्वाःले देखाएको सामाजिक एकताको मार्ग आज पनि उत्तिकै सान्दर्भिक रहेको बताइन्।

समारोहमा प्रधानमन्त्रीले नेपाल संवत्का प्रवर्तक तथा राष्ट्रिय विभूति शंखधर साख्वाःप्रति श्रद्धासुमन अर्पण गरिन्।

करिब ११४६ वर्षअघि ऋणमा डुबेका आम नागरिकलाई ऋणमुक्त गराई साख्वाःले स्थापना गरेको सामाजिक न्यायको कीर्तिमानलाई उनले स्मरण गरिन्।

‘नेपाल संवत् नेपाली धर्तीमा जन्मिएको मौलिक संवत् हो। यसले हाम्रो गौरवपूर्ण सामाजिक इतिहास बोकेको छ,’ प्रधानमन्त्रीले कार्कीले भनिन्, ‘शंखधरले देखाउनुभएको त्याग र परोपकारको बाटो हामी सबैका लागि प्रेरणाको स्रोत हो।’

सोही क्रममा प्रधानमन्त्रीले हालैका नागरिक आन्दोलनहरूप्रति सङ्केत गर्दै भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’मा ज्यान गुमाएका युवाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरिन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै नागरिकको शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकारको सम्मान गरिने बताइन्।

साथै, आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको उनले दोहोर्याइन्।

कार्यक्रममा नेवारी संस्कृति झल्किने विविध झाँकी तथा सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो। सो अवसरमा नेपाल संवत्को संरक्षण र प्रवर्धनमा योगदान पुर्याउने विभिन्न व्यक्तित्व तथा संस्थाहरूलाई सम्मान गरिएको थियो।

कात्तिक ५, २०८२ बुधबार ०९:४३:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।