भोजपुरमा व्यावसायिक कागती खेती : एकै किसानको वार्षिक आम्दानी तीन लाख

भोजपुरमा व्यावसायिक कागती खेती : एकै किसानको वार्षिक आम्दानी तीन लाख

भोजपुर : भोजपुरको पौवादुङमा गाउँपालिका-४, बस्तिमका किसान नवराज घिमिरेले व्यावसायिक कागती खेतीबाट मनग्य आम्दानी गर्न सफल भएका छन्।

परम्परागत खेती प्रणालीबाट माथि उठेर सुरु गरेको फलफूल खेती उनको आम्दानीको बलियो स्रोत बनेको छ।

४० वर्षीय घिमिरेले करिब १० रोपनी क्षेत्रफलमा सानाठूला गरी ३५० भन्दा बढी कागतीका बोट लगाएका छन्। ६ वर्षअघि सुरु गरेको यो खेतीबाट अहिले वार्षिक तीन लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनी बताउँछन्।

‘अहिले वार्षिक दुईदेखि तीन लाख रुपैयाँसम्म आम्दानी भइरहेको छ,’ घिमिरेले भने, ‘साना बिरुवाहरू पनि हुर्किरहेका छन्, तिनले फल दिन थालेपछि आम्दानी अझै बढ्ने आशा छ।’

एकपटक लगाएपछि लामो समयसम्म आम्दानी लिन सकिने भएकाले उनले कागतीसँगै सुन्तला र एभोकार्डो जस्ता बहुवर्षीय बालीको खेती पनि विस्तार गरेका छन्।

घिमिरेको सफलता यस क्षेत्रमा फलफूल खेतीको सम्भावनाको एक उदाहरण हो। पौवादुङमा गाउँपालिकाले पनि यहाँको माटो र हावापानी सुहाउँदो बहुवर्षीय खेती प्रणालीलाई प्रोत्साहन गरिरहेको छ।

गाउँपालिकाले ‘एक घर, एक फलफूल’ जस्ता कार्यक्रममार्फत किसानलाई फलफूल खेतीमा आकर्षित गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए।

‘हामीले पौवादुङमामा माटो सुहाउँदो खेती प्रणालीमा जोड दिएका छौँ,’ अध्यक्ष राईले भने, ‘यहाँ धेरै किसानहरू बहुवर्षीय खेतीमा लाग्नुभएको छ र गाउँपालिकाले पनि आवश्यक प्रोत्साहन र सहयोग गर्दै आएको छ।’

गाउँपालिकाले वडागत रूपमा उत्पादनको सम्भावना पहिचान गरी किसानलाई दिगो आम्दानीका लागि आवश्यक सहयोग गरिरहेको जनाएको छ।

कात्तिक ५, २०८२ बुधबार ०९:२३:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।