एनपीएलका लागि कर्णाली याक्समा स्कटल्यान्डका स्पिनर मार्क वाट अनुबन्धित

एनपीएलका लागि कर्णाली याक्समा स्कटल्यान्डका स्पिनर मार्क वाट अनुबन्धित

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टोली कर्णाली याक्सले स्कटल्यान्डका अनुभवी बायाँ हाते स्पिनर मार्क वाटलाई अनुबन्ध गरेको छ।

कर्णालीले सामाजिक सञ्जालमार्फत वाटलाई टोलीमा भित्र्याएको औपचारिक घोषणा गरेको हो। वाट स्कटल्यान्डका प्रमुख खेलाडी हुन् र टी-२० क्रिकेटमा आफ्नो किफायती बलिङका लागि विश्वभर परिचित छन्।

उनको आगमनले मार्की खेलाडी सोमपाल कामी रहेको कर्णालीको बलिङ आक्रमणलाई थप धारिलो बनाउने अपेक्षा गरिएको छ।

कर्णालीको टोलीमा वाटको आगमनसँगै स्पिन विभाग थप बलियो बनेको छ। टोलीमा पहिलेदेखि नै प्रतिभाशाली नेपाली स्पिनरहरू युवराज खत्री, पवन सर्राफ, विपिन शर्मा, युनिश ठकुरी र दीपेन्द्र रावत रहेका छन्।

अनुभवी विदेशी स्पिनर र प्रतिभाशाली स्वदेशी खेलाडीको यो संयोजनले टोलीलाई सन्तुलन प्रदान गर्ने विश्वास लिइएको छ।

कात्तिक ५, २०८२ बुधबार ०८:५०:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।