सुपर ओभरमा वाइड र नो बलबाट ५ रन दिए पनि बंगलादेशले पछ्याउन सकेन ११ रनको लक्ष्य

मीरपुर : वेस्ट इन्डिज र बंगलादेशबीचको दोस्रो एकदिवसीय खेलले रोमाञ्चकताको सबै सीमा पार गरेको छ।
मीरपुरस्थित शेर-ए-बांग्ला स्टेडियममा भएको खेल ‘टाई’ भएपछि निर्णयका लागि भएको सुपर ओभरमा वेस्ट इन्डिजले बंगलादेशलाई पराजित गर्दै ३ खेलको शृङ्खला १-१ को बराबरीमा ल्याएको छ।
खेलमा दुवै टोलीले निर्धारित ५० ओभरमा समान २१३ रन बनाएका थिए। त्यसपछि भएको सुपर ओभरमा वेस्ट इन्डिजले बनाएको १० रनको जवाफमा बंगलादेशको टोली ९ रनमा समेटियो र खेल गुमाउन पुग्यो।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ७ विकेटको क्षतिमा २१३ रन बनाएको थियो। टोलीका लागि सौम्य सरकारले ४५ र कप्तान मेहदी हसन मिराजले ३२ रनको योगदान दिए।
एक समय सङ्घर्ष गरिरहेको बंगलादेशी पारीलाई अन्त्यतिर रिशाद हुसैनले उकासेका थिए। उनले मात्र १४ बलमा ३९ रनको विस्फोटक पारी खेल्दै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्याए।
वेस्ट इन्डिजका लागि सबैभन्दा विशेष कुरा के रह्यो भने उसले आफ्नो पूरै ५० ओभर बलिङ ५ जना स्पिनरबाटै गराएको थियो। गुडाकेश मोतीले ३ विकेट लिए भने एलिक एथानाज र अकिल हुसेनले २-२ विकेट हात पारे।
२१४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजको टोली एक समय १३३ रनमा ७ विकेट गुमाएर सङ्घर्ष गरिरहेको थियो। तर, एक छेउबाट कप्तान शाई होपले अविजित ५३ रनको महत्त्वपूर्ण पारी खेल्दै टोलीलाई खेलमा टिकाइराखे।
अन्तिम बलमा वेस्ट इन्डिजलाई जितका लागि ३ रन चाहिएको थियो, तर टोलीले २ रन मात्र बनाउन सक्यो र खेल बराबरीमा टुङ्गियो। बंगलादेशका लागि रिशाद हुसैनले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए।
सुपर ओभरमा वेस्ट इन्डिजले पहिले ब्याटिङ गर्दै मुस्तफिजुर रहमानको ओभरमा १० रन बनायो। ११ रनको लक्ष्य पछ्याउन मैदान उत्रेको बंगलादेशविरुद्ध बलिङ गर्न आएका अकिल हुसेनले पहिलो बलमै वाइड र नो-बलसहित ५ रन दिए, जसले खेल बंगलादेशले सहजै जित्नेजस्तो देखियो।
तर, हुसेनले उत्कृष्ट पुनरागमन गर्दै सौम्य सरकारको विकेट लिए र अन्तिम बलमा ३ रन चाहिएको अवस्थामा मात्र १ रन दिएर वेस्ट इन्डिजलाई अविस्मरणीय जित दिलाए। अब शृङ्खलाको निर्णायक तेस्रो तथा अन्तिम खेल अक्टोबर २३ मा मीरपुरमै खेलिनेछ।
कात्तिक ५, २०८२ बुधबार ०८:४३:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।