गृहमन्त्रीले सुरक्षाका लागि भक्तपुर संवेदनशील भनेपछि एमालेले भन्यो- ‘गृहमन्त्रीले किन बढी बोलिराख्या छन्’

काठमाडौं : निर्वाचनको वातावरण बनाउन दलका नेताहरूलाई बोलाएको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षाको दृष्टिकोणले भक्तपुर संवेदनशील रहेको व्याख्या गरे।
प्रधानमन्त्रीले निर्वाचनको वातावरण बनाउन दलका नेताहरूसँग राखेको बैठकमा गृहमन्त्री अर्यालले सुरक्षा अवस्थाबारे ब्रिफिङ गर्दै सुरक्षा अवस्था सुधार हुँदै गएको र मुख्य सुरक्षा चुनौती दुर्गा प्रसाईं र एमाले नेता महेश बस्नेतको गतिविधि रहेको विश्लेषण गरे।
उनले दुर्गा प्रसाईंको नाम लिए पनि बस्नेतको नाम भने लिएनन्। गुन्डुमा भइरहेको गतिविधिले समेत सुरक्षा चुनौती बढाएको बताए। गुन्डुमा बस्नेतसँगै अहिले एमाले अध्यक्ष केपी ओलीसमेत डेरामा बस्दै आएका छन्।
‘दुर्गा प्रसाईं र गुन्डुका गतिविधिले सुरक्षा चुनौती बढाइरहेको छ,’ बैठकमा अर्यालले भने, ‘मुख्य दलका नेता नै सुरक्षा अवस्था भड्काउने अभिव्यक्ति दिइरहनु भएको छ।’
गृहमन्त्रीले दुर्गा प्रसाईंसँगै एमाले अध्यक्ष ओली लक्षित विश्लेषण सुनाएपछि बैठकमा सहभागी एमाले नेताहरूले गृहमन्त्रीको व्यवहार नै चुनावको वातावरण बिथोल्ने मुख्य कारण रहेको भन्दै आपत्ति जनाएको थियो।
दलका शीर्ष नेतृत्वलाई नै स्थान हद तोक्ने, दलका नेताहरूलाई चुनावमा संलग्न हुन दिन्न भन्नेलाई सरकारले संरक्षण गरेको भन्दै उनीहरूले सरकारको व्यवहारको आलोचना गरेका थिए।
चौकीमा प्रहरी छैन कसरी हुन्छ चुनाव?
निर्वाचनमा सहभागी हुन शान्ति सुरक्षाको अवस्था बलियो हुनुपर्ने सर्त राख्दै छलफलमा सहभागी दलका नेताहरूले प्रहरी चौकीमा अनि नेता घरमा बस्न नसक्ने अवस्थामा सरकारले कसरी चुनाव गराउन सक्छ भनेर प्रश्न सोधेका थिए।
प्रहरीबाट लुटिएको हतियार खोज्न सरकार सक्रिय नहुने तर दललाई ती हतियार प्रयोग गर्दिन भनेर प्रतिबद्धता जना भनेर गृहमन्त्रीले भन्ने भन्दै बैठकमा आपत्ति जनाएका थिए।
‘लुटिएका हतियार चुनावमा प्रयोग हुन्न भनेर दलका नेताहरूले प्रतिबद्धता जनाउनु पर्छ भनेर गृहमन्त्रीले भनेको भनाइको सबैले विरोध गरे,’ बैठकमा सहभागी स्रोतले भन्यो, ‘गृहमन्त्रीको व्यवहारै चुनावको माहौलको विपक्षमा छ भन्नेहरूमा सबै दलका नेता एकमत देखिए।’
जाँचबुझ आयोगको प्रमुखप्रति प्रश्न
जेन-जी आन्दोलनको जाँचबुझ गर्न बनेको आयोगको कार्यक्षेत्रको विषयमा पनि गृहमन्त्रीले सार्वजनिक अभिव्यक्ति दिने गरेको भन्दै नेताहरूले गृह मन्त्रालय र जाँचबुझ आयोगको कार्यक्षेत्र प्रस्ट हुनुपर्ने बताएका थिए।
आयोगको अध्यक्ष गौरीबहादुर कार्कीको नियतमाथि पनि बैठकमा छलफल भएको थियो। आयोगको अध्यक्ष हुनु भन्दा अगाडि नै दलका नेताहरूलाई थुन्नुपर्छ भन्ने धारणा रहेको भन्दै उनीबाट आउने प्रतिवेदनको निष्पक्षतामाथि शङ्का व्यक्त गरेका थिए।
नैतिक धरातल नभएको व्यक्तिलाई आयोगको नेतृत्व दिएर सरकारले जेन-जी आन्दोलनबारे निष्पक्ष जाँचबुझ गराउन नचाहेको उनीहरूको तर्क थियो।
कात्तिक ५, २०८२ बुधबार ०८:३५:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।