एनएस बाइकमा क्रसफायर ह्यान्डल, कारबाहीमा परेपछि विषयान्तर गरी भिडियो बनाउने भ्लगर पक्राउ

काठमाडौं : ट्राफिक प्रहरीको कारबाहीलाई लिएर सामाजिक सञ्जाल टिकटकमा अफवाह फैलाएको आरोपमा प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-२ बस्ने २४ वर्षीय सजन श्रेष्ठ र भारतको सितामडी घर भई हाल सिनामंगल बस्ने १९ वर्षीय अफ्ताव अन्सारी रहेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार, गत असोज ३० गते श्रेष्ठले बागमती प्रदेश ०२-०५१ प ६३५४ नम्बरको एनएस मोटरसाइकलमा क्रस फायर बाइकको ह्यान्डिल जडान गरी लापरवाहीपूर्वक चलाइरहेको अवस्थामा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो।
तर, नियन्त्रणमा लिइएको मोटरसाइकलको ह्यान्डिल परिवर्तन गर्न ट्राफिक प्रहरी कार्यालय परिसरमा पुगेका श्रेष्ठले अन्सारीको सहयोगमा भ्रामक श्रव्यदृश्य सामग्री तयार पारेका थिए।
उक्त भिडियो SS_VLOGS (@ssvlognp10) नामक टिकटक ह्यान्डलबाट पोष्ट गरी सामाजिक सञ्जालमा नकारात्मक असर पार्ने र अफवाह फैलाउने प्रयास गरेको प्रहरीको भनाइ छ।
उक्त भिडियो सार्वजनिक भएपछि अनुसन्धानमा जुटेको प्रहरी टोलीले दुवै जनालाई कार्तिक ३ गते दिउँसो साढे ३ बजे पक्राउ गरेको हो। श्रेष्ठलाई कागेश्वरी मनोहरा-२, तीर्थचोकबाट र अन्सारीलाई सिनामंगलबाट नियन्त्रणमा लिइएको हो।
उनीहरूको साथबाट भिडियो बनाउन प्रयोग गरिएको एक थान सामसुङ ग्यालेक्सी ए१४ मोबाइल र एक थान गोप्रो क्यामेरा समेत बरामद गरिएको छ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकालीमा बुझाइएको कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए।
कात्तिक ५, २०८२ बुधबार ०८:१७:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।