कोरला नाका सञ्चालनमा आएको दुई महिनामै तीन अर्ब राजस्व सङ्कलन

मुस्ताङ : नेपाल-चीनबीचको कोरला नाका पूर्ण रूपमा व्यापारिक प्रयोजनका लागि सञ्चालनमा आएको करिब दुई महिनाको अवधिमा मुस्ताङ भन्सार कार्यालयले तीन अर्ब रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ।
गत भदौ ३१ गतेदेखि पूर्ण सञ्चालनमा आएको यस नाकाबाट मङ्गलबारसम्ममा रु तीन अर्ब एक करोड ४४ लाख ३६ हजार राजस्व उठेको भन्सार कार्यालय प्रमुख रमेश खड्काले जानकारी दिए।
यस अवधिमा चीनबाट आयात भएका ६५७ र नेपालबाट निर्यात भएका ७ गरी कुल ६६४ मालवाहक कन्टेनरको जाँचपास गरिएको छ।
प्रमुख खड्काका अनुसार, चीनबाट दशैं-तिहार लक्षित रेडिमेड लत्ताकपडा, कस्मेटिक र इलेक्ट्रोनिक सामानहरूको आयात भएको छ भने नेपालबाट हस्तकलाका सामग्री निकासी भएका छन्। यसका साथै, सोही अवधिमा एक हजार ४९८ वटा विद्युतीय कार पनि यही नाका हुँदै पैठारी भएका छन्।
तातोपानी र रसुवागढी नाका अवरुद्ध हुँदा वैकल्पिक मार्गका रूपमा सञ्चालनमा ल्याइएको कोरला नाकालाई सरकारले पूर्ण व्यापारिक नाकाको रूपमा विकास गरिरहेको छ। भन्सार विभागले कार्यालयलाई अनलाइन प्रणाली ‘आशिकुडा’मा जोडेको छ भने प्रतितपत्र (एलसी) खोल्न अनुमति दिएर व्यापारलाई सहज बनाएको छ।
यद्यपि, ४ हजार ६१० मिटरको उच्च भूभागमा रहेको यो नाका बाह्रै महिना सञ्चालन गर्न भने चुनौती रहेको प्रमुख खड्का बताउँछन्।
‘अत्यधिक चिसोका कारण सवारीसाधनको इन्धन जम्ने र स्टार्ट नहुने समस्या छ। नाकालाई पूर्ण क्षमतामा सञ्चालन गर्न सडक सुधार र आवश्यक पूर्वाधार निर्माण जरुरी छ’, उनले भने।
यसअघि २०८० कात्तिकदेखि यो नाका उपल्लो मुस्ताङका स्थानीयलाई घरायसी सामान किनमेलका लागि मात्रै खुला गरिएको थियो। हाल यसलाई अन्तर्राष्ट्रिय व्यापारिक नाकाको रूपमा विस्तार गरिएको हो।
कात्तिक ५, २०८२ बुधबार ०८:००:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।