आज गोरु, गोवर्द्धन र म्हः पूजा; देशभर तिहारको चौथो दिन हर्षोल्लास

आज गोरु, गोवर्द्धन र म्हः पूजा; देशभर तिहारको चौथो दिन हर्षोल्लास

काठमाडौं : यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज कार्तिक शुक्ल प्रतिपदाका दिन देशभर हर्षोल्लासका साथ गोरु, गोवर्द्धन र कृषकको पूजाआजा गरी मनाइँदैछ। साथै, नेवार समुदायले आज आफ्नो मौलिक पर्व म्हः (आत्म) पूजा गर्दैछन्।

आजको दिन आँगनमा लिपपोत गरी गाईको गोबरबाट गोवर्द्धन पर्वतको प्रतीक बनाएर पूजा गर्ने परम्परा छ।

द्वापर युगमा भगवान् श्रीकृष्णले गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाउन आफ्नो औँलाले गोवर्द्धन पर्वत उचालेको पौराणिक कथाको स्मरणमा यो पूजा गरिन्छ।

यसैगरी, वर्षभर कृषि कर्ममा सघाउने र मानव हितमा सेवा गर्ने गोरुलाई आज विशेष पूजा गरी मीठा परिकार खुवाइन्छ।

गोरुलाई देवाधिदेव महादेवको वाहनका रूपमा पनि श्रद्धापूर्वक पूजा गर्ने गरिन्छ। साथमा, वर्षभरि हलो जोत्ने कृषक (हलि) लाई पनि सम्मानस्वरूप पूजा गरी मिष्ठान्न भोजन गराउने चलन छ। यसैले आजको दिनलाई ‘हलि तिहार’ पनि भनिन्छ।

आजकै दिन नेवार समुदायले आफ्नो शरीरलाई आत्माको प्रतीक मानी म्हः (आत्म) पूजा गर्ने गर्दछन्।

मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्त्वपूर्ण भएको शास्त्रीय मान्यताअनुसार आत्मपूजा गर्ने परम्परा बसेको हो। धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार, आफ्नो आत्मालाई सन्तुष्ट र खुसी राख्न सके देवीदेवता पनि प्रसन्न भई आशीर्वाद दिन्छन् भन्ने धार्मिक विश्वास छ।

यो पर्व विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, पनौती लगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानहरूमा धूमधामका साथ मनाइन्छ।

कात्तिक ५, २०८२ बुधबार ०७:४९:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।