असोज मसान्तसम्म १० जलविद्युत् आयोजनालाई निर्माण अनुमति

असोज मसान्तसम्म १० जलविद्युत् आयोजनालाई निर्माण अनुमति

काठमाडौं : विद्युत् विकास विभागले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कूल १० वटा जलविद्युत् आयोजनालाई निर्माण अनुमति प्रदान गरेको छ। ती आयोजनाको कूल क्षमता दुई सय ४१ दशमलव ५० मेगावाट बराबर रहेको छ।

विभागले हालसम्म दुई सय ६६ आयोजनालाई निर्माण अनुमतिपत्र प्रदान गरेको छ। ती आयोजनाको कूल क्षमता १० हजार आठ सय २५ मेगावाट रहेको विभागले उपलब्ध गराएको विवरणमा उल्लेख छ।

विभागले चालु आवको असोज मसान्तसम्ममा लापा खोला (चार दशमलव ७२ मेगावाट), लोअर बरुण (एक सय ३२ मेगावाट), म्याग्दी खोला बी ( १२ दशमलव ५० मेगावाट), तल्लो लिखु क्यासकेड ( ६ मेगावाट) लाई निर्माण अनुमति पत्र प्रदान गरेको हो।

साथै माथिल्लो मेलम्ची (चार दशमलव ९५ मेगावाट), सुपर सभा खोला ( नौ दशमलव ५५ मेगावाट), लोअर मेलम्ची खोला ( चार दशमलव ९६ मेगावाट), अप्पर सेती एक (१३ मेगावाट), होङ्गु खोला ( २८ दशमलव ९० मेगावाट) र इन्दुवा खोला (२४ दशमलव ९२ मेगावाट)लाई निर्माण अनुमतिपत्र प्रदान गरेको हो।

विभागले हालसम्म कूल एक सय ८५ आयोजनालाई सर्वेक्षणको अनुमति दिएको छ। यस्तै विभागका कूल ५९ वटा परियोजनाले निर्माण अनुमतिपत्रका लागि आवेदन दिएका छन्। ती आयोजनाको कूल क्षमता १० हजार पाँच सय ३२ मेगावाट बराबर छ।

सौर्य परियोजनातर्फ १२ आयोजनाले निर्माण अनुमतिपत्र लिएका छन्। ती आयोजनाको क्षमता ८४ मेगावाट छ। तीन वटा सौर्य परियोजनाले निर्माण अनुमतिपत्रका लागि आवेदन दिएका छन्। ती आयोजनाको क्षमता १५ मेगावाट छ। निर्माण अनुमतिपत्र लिएपनि काम अगाडि नबढाएका १५ आयोजनाको अनुमतिपत्र खारेज गरिएको विभागले जनाएको छ।

निर्माण अनुमतिपत्रका लागि आवेदन दिएका र आवश्यक प्रक्रिया पूरा नगरेका ११ आयोजनाको पनि आवेदन खारेज गरिएको छ। त्यस्तै, एक सय १८ वटा आयोजनाको सर्वेक्षण अनुमतिपत्र खारेज गरिएको छ।

कात्तिक ५, २०८२ बुधबार ०७:४३:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।