देशका केही पहाडी भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं : आज, बुधवार, देशभरको मौसम सामान्यतया सफा रहने भए तापनि केही पहाडी तथा हिमाली भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसैको प्रभावले दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा वा हिमपातको सम्भावना छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा पनि हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ।
आज राति पनि सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
रातिको समयमा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा र कोशी तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले मौसमी जानकारीमा अद्यावधिक रहन सबैलाई आग्रह गरेको छ।
कात्तिक ५, २०८२ बुधबार ०७:२१:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।