दलहरूसँगको बैठकमा गृहमन्त्रीले भने"२०७३ सम्म त म पनि एमाले नै हो"

काठमाडौं : चुनावी वातावरण बनाउन प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको दलहरूको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले आफू पनि २०७३ सालसम्म एमालेकै कार्यकर्ता भएको बताए।
बैठकमा सहभागी दलका नेताहरूले सरकारसँगै गृहमन्त्री अर्यालको बोली र व्यवहारको तीव्र आलोचना गरेका थिए। जेन-जी आन्दोलनकोक्रममा लुटिएका हतियार खोज्ने जिम्मेवारी सरकारको भएको तर गृहमन्त्री अर्याल दलका नेताले हतियार प्रयोग नगर्ने प्रतिबद्धता जनाउनु पर्ने भनेर के भन्न खोजेको भन्दै आपत्ति जनाएका थिए।
जेन-जीको बलमा सरकार दललाई हराएको शैलीमा अगाडि बढेको भन्दै दलका नेताहरूले सरकार दललाई उपेक्षा गर्दै अगाडि बढ्न खोजेको हो भन्दै प्रश्न राखेका थिए।
बैठकमा आफ्नो बोली र शैलीको तीव्र आलोचना भएपछि उनले कुनै विषयमा सतही रूपमा बोल्नु आफ्नो गल्ती भएको भन्दै आफ्नो उद्देश्य दल विरोधी वातावरण बनाउने नभएको स्पष्टीकरण दिँदै उनले भने "म पनि ७३ सालसम्म एमाले नै हुँ नि। फरक अवस्थामा सरकार बने पनि दललाई बाइपास गर्ने सरकारको नीति हैन।"
बैठकमा सरकारको तर्फबाट प्रधानमन्त्री कार्कीसहित सरकारका मन्त्रीहरू सहभागी थिए। बैठकमा सहभागी स्रोतका अनुसार सरकारमा रहेकाहरू निकै नरम रूपमा प्रस्तुत भएका थिए। उनीहरूले दलका नेताहरूलाई आफूहरू निर्वाचनप्रति प्रतिबद्ध रहेको तर निर्वाचनको वातावरण बनाउन दलको सहयोग चाहिने भन्दै सहकार्यका लागि आग्रह गरेका थिए।
दलका नेताहरू शान्ति सुरक्षाको अवस्था र गृहमन्त्रीको व्यवहारप्रति असन्तुष्ट देखिएपछि गृहमन्त्री अर्याल आफैँ दलको विश्वास जित्ने प्रयासमा लागेका थिए।
उनले शान्ति सुरक्षामा सुधार गरेर तोकिएको मितिमा चुनाव गर्न आफू सक्रिय रहेको भन्दै अविश्वास नगर्न आग्रह गरेका थिए।
कात्तिक ५, २०८२ बुधबार ००:३४:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।