जनतालाई खुसी दिएको भन्दै क्रिकेट खेलाडीको तस्बिर राखेर कालीपूजा पण्डाल

झापा : भद्रपुर–६ मा यस वर्षको कालीपूजामा फरक दृश्य देखिएको छ- पण्डालमा देवीको मूर्तिसँगै झल्किएका छन् नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूका तस्बिर।
‘जेनजी’ आन्दोलनपछि देखिएको राजनीतिक अस्थिरता र निराशाबीच भर्खरै राष्ट्रिय टोलीले दिएको उत्साहलाई मनन गर्दै क्लब बाङ्गला भद्रपुरले यस वर्ष क्रिकेट भावनाले भरिएको पण्डाल तयार पारेको हो। 'देशमा खुसी ल्याउने काम नेपाली क्रिकेटरहरूबाट आएको हो। त्यसैले यसपटकको पूजा उनीहरूलाई समर्पित गरिएको छ,' पूजा समितिका संयोजक विजय साहले भने।
पण्डालमा पुरुष, महिला र पूर्वराष्ट्रिय खेलाडी गरी ३५ जनाको तस्बिर राखिएको समितिका सदस्य पार्थ मण्डल बताए। उनी भन्छन्, 'सन् २०२६ को टी–२० विश्वकपमा नेपाली टोलीले अझ ठूलो सफलता पाओस् भन्ने हाम्रो शुभेच्छा हो।'
करिब सात लाख रुपैयाँ खर्चमा बनेको यो पण्डाल राष्ट्रियता र खेलप्रतिको एकताको प्रतीक बनेको छ। समितिले कात्तिक ७ गते स्थानीय र भारतीय कलाकारहरूको सहभागितासहित बृहत् साँगीतिक कार्यक्रमसमेत आयोजना गर्ने तयारी गरेको छ।
बङ्गाली समुदायका युवाहरूले स्थापना गरेको क्लब बाङ्गला भद्रपुरले विगत नौ वर्षदेखि हरेक वर्ष फरक-फरक रूपको पण्डाल बनाउँदै आएको छ। अघिल्लो वर्ष सो क्लबले केदारनाथ मन्दिरको आकृतिमा पण्डाल निर्माण गरेको थियो।
संयोजक साह भन्छन्, 'यो केवल पूजा होइन, राष्ट्रियता र खेलप्रतिको गर्व झल्काउने एउटा सन्देश हो।'
कात्तिक ४, २०८२ मंगलबार १७:४१:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।