प्रधानमन्त्री कार्कीद्वारा ‘जेनजी’ आन्दोलनका घाइतेसँग छलफल

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी आन्दोलन’का घाइतेहरूसँग छलफल गरेकी छन्। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको छलफलमा आन्दोलनका घाइतेहरूले भ्रष्टाचार र दमनविरुद्ध सरकारलाई ठोस कदम चाल्न आग्रह गरे।
रुपिन खड्काको नेतृत्वमा पुगेको १८ जनाको टोलीले “क्रान्तिबाट आएको सरकारले क्रान्तिकारी काम गर्नुपर्छ” भन्ने माग प्रधानमन्त्रीसमक्ष राखेको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ।
छलफलमा प्रधानमन्त्री कार्कीका साथै गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङ, शिक्षामन्त्री महावीर पुन र सञ्चारमन्त्री जगदीश खरेल पनि सहभागी थिए।
गृहमन्त्री अर्यालले भ्रष्टाचार र आन्दोलनमा भएको दमनसम्बन्धी छानबिनको प्रगतिबारे घाइतेलाई जानकारी गराउँदै, भाग्न खोज्ने र सम्पत्ति लुकाउने व्यक्तिहरू अब ‘नेपालमै छु’ भन्दै देखापर्न थालेको बताए।
प्रधानमन्त्री कार्कीले सरकार ‘जेनजी आन्दोलनको मर्मभन्दा बाहिर नजाने’ बताउँदै भनिन् - “हामी प्रक्रियासम्मत ढङ्गले काम गर्छौं, कानुनी सीमाभित्रै रहन्छौं। चुनाव पनि हुन्छ, छानबिन पनि हुन्छ।”
“राज्यका निकायहरू तीव्र गतिमा काम गरिरहेका छन्। तपाईँहरूले दबाब दिन नछाड्नुहोस्, अब नतिजा आउँछ,” उनले भनिन्।
घाइतेहरूले केही आरोपित व्यक्ति अझै नियन्त्रणबाहिर रहेको र अकुत सम्पत्ति लुकाउने प्रयास भइरहेको भन्दै चिन्ता व्यक्त गरेका थिए।
कात्तिक ४, २०८२ मंगलबार १६:५५:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।