पोखराका विभिन्न क्षेत्रमा जुवा खेलिरहेका २० जना पक्राउ

पोखराका विभिन्न क्षेत्रमा जुवा खेलिरहेका २० जना पक्राउ

कास्की : प्रहरीले पोखराको नयाँजबार, लप्सीबोट र मोहरियाटोलबाट जुवा खेलिरहेका २० जनालाई पक्राउ गरेको छ।

जुवातास खेलिरहेको अवस्थामा उनीहरुबाट नगद रु छ लाख दुई हजार १ सय ५ सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी समेत रहेका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए। 

उनले भने , “तिहारको समयमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा छापा मार्दा उनीहरुलाई पक्राउ गरिएको छ प्रहरीले जुवातास खेल्ने र खेलाउनेहरुलाई निगरानी गरिरहेको छ।” प्रहरीका अनुसार पोखरा नयाँबजारबाट पाँच जना पक्राउ परेका छन्। उनीहरुको साथबाट दुई सय १२ पत्ती तास र नगद रु दुई लाख ५१ हजार ४५५ बरामद भएको छ। 

यसैगरी पोखरा महानगरपालिका–२६ विजयपुरको लप्सीबोट सामुदायिक वनबाट सात जना पक्राउ परेका छन्। उनीहरुको साथबाट १४ थान कौडा र रु ७७ हजार २०५ नगद फेला परेको छ।

यस्तै प्रहरीले पोखरा–२ मोहोरियाटोलबाट आठ जना पक्राउ गरेको र उनीहरुको साथबाट छ बुक तास र नगद रु दुई  लाख ७३ हजार ४४५ बरामद गरिएको प्रनाउ बस्नेतले जानकारी दिए। पक्राउ परेकाहरुलाई अनुसन्धान तथा कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। 

कात्तिक ४, २०८२ मंगलबार १४:५९:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।