बाँदरले दुःख दिएपछि समयअगावै किसानले टिपे सुन्तला

भोजपुर : बाँदरको समस्याका कारण भोजपुरका किसान समयअगावै सुन्तला टिप्न बाध्य भएका छन्। पछिल्ला वर्षमा बाँदरका सङ्ख्यामा उल्लेख्य वृद्धि भएपछि बगैँचामा फलफूलको क्षति बढ्दै गएको किसानहरू बताउँछन्।
सामान्यतया मङ्सिर–पुस महिनामा मात्र टिप्ने सुन्तला यस वर्ष असोज–कात्तिकमै टिप्नुपर्ने अवस्था आएको किसानको भनाइ छ।
बाँदरको हुल आएर सुन्तला, अम्बा, एभोकाडोलगायतका फल टिपेर खाने र कतिपय बोट भाँचेर नोक्सान पुर्याउने गरेको स्थानीयहरूको भनाइ छ। भोजपुर नगरपालिका–५ बोखिमका किसान भीमप्रसाद फुँयालका अनुसार बाँदरको हुल दिनभर खेतबारी र बगैँचामा आउने भएकाले खेतीपाती जोगाउन निकै कठिन भएको छ।
“बिहानदेखि बेलुकीसम्म बाँदरले बगैँचा सताउँछ”, उनले भने, “तर्साउन ढुङ्गा हान्ने गरे पनि नियन्त्रणमा आउँदैन । छिनभर बगैँचामा पस्यो भने सखाप नै पार्छ । फलफूल, अन्नबाली बोटमा पकाएर खाने अवस्था छैन।”
जिल्लाको प्रमुख नगदेबालीका रूपमा सुन्तलाखेती पहिचान हुँदै आएको छ। तर पछिल्ला वर्षहरूमा बाँदरको समस्याका कारण उत्पादन र आम्दानीमा गिरावट आएको किसानहरूको गुनासो छ।
समयअगावै फल टिप्नुपर्ने बाध्यताले बजार मूल्य पनि घट्ने र फलको गुणस्तरमा असर पर्ने स्थानीय किसान गीता कार्कीले बताए। किसानले बाँदर नियन्त्रणका लागि सम्बन्धित निकायले ध्यान दिनुपर्ने माग गरेका छन्।
कात्तिक ४, २०८२ मंगलबार १२:१२:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।