निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाइन् सात दलको बैठक

काठमाडौं : प्रधानमन्त्रीले सुशीला कार्कीले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सात राजनीतिक दललाई फागुन २१ गते तय गरिएको निर्वाचन सम्बन्धमा छलफल गर्न आमन्त्रण गरेका छन्।
निर्वाचन गराउने मुख्य कार्यभार लिएको वर्तमान सरकारले राजनीतिक गतिरोध अन्त्य गर्ने प्रयासस्वरूप राष्ट्रिय मान्यता प्राप्त दलहरूसँग औपचारिक संवादको थालनी गरेको हो।
बैठक आज साँझ ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए। सरकारले निर्वाचनका लागि आवश्यक वातावरण नबनाएको भन्दै दलहरू असन्तुष्ट रहेका बेला यो बैठक आयोजना गरिएको हो।
लामो समयको संवादहीनता तोड्दै सरकारले दलहरूलाई छलफलका लागि पत्राचार नै गरेपछि संसद् पुनर्स्थापनालाई आफ्नो प्रमुख अडान बनाएको एमालेसमेत बैठकमा सहभागी हुन तयार भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार निर्वाचन गराउन गम्भीर नभएको आरोप लगाउँदै आएका थिए।
एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले आफ्नो पार्टी छलफलमा सहभागी हुने पुष्टि गरे। एमालेका तर्फबाट महासचिव शंकर पोखरेलको नेतृत्वमा एक प्रतिनिधिमण्डल सहभागी हुनेछ। सरकारले प्रत्येक दललाई दुई जना उच्चस्तरीय प्रतिनिधि पठाउन अनुरोध गरेको थियो।
सरकारको यस कदमलाई नेपाली कांग्रेसले स्वागत गरेको छ। महामन्त्री गगन थापाले आफ्नो पार्टी छलफलमा सहभागी हुने र शान्ति सुरक्षाको विषयलाई प्राथमिकताका साथ उठाउने बताए।
माओवादी केन्द्रका नेता देव गुरुङले सरकारका गतिविधिप्रति केही आशंका भए पनि चुनावका लागि दलहरूसँग संवाद हुनु सकारात्मक रहेको भन्दै बैठकमा सहभागी हुने जानकारी दिए।
यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्ले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रवक्ता मनिष सुमन र जनमत पार्टीका महासचिव चन्दन सिंह आ-आफ्नो पार्टीको तर्फबाट बैठकमा सहभागी हुने भएका छन्।
सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको भन्दै प्रमुख दलहरूले असन्तुष्टि जनाउँदै आएकाले तोकिएकै मितिमा निर्वाचन हुनेमा अन्योल कायमै छ।
कात्तिक ४, २०८२ मंगलबार ०९:३६:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।