ओलीनिकट व्यक्ति मेरो घर जलाउन आएका थिए : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भदौ २४ गतेको जेन-जी आन्दोलनका क्रममा आफ्नो घर जलाउन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीनिकट व्यक्ति संलग्न रहेको खुलासा गरेका छन्।
उनले स्वतःस्फूर्त रूपमा शुरू भएको ‘जेन-जी’ आन्दोलनमा राजनीतिक दलका कार्यकर्ता र आपराधिक तत्वले घुसपैठ गरी त्यसलाई हिंसात्मक बनाएको दाबी गरे।
कान्तिपुर टेलिभिजनसँगको अन्तर्वार्तामा भदौ २३ र २४ गतेको घटनाबारे बोल्दै थापाले आफ्नो घरमा भएको आक्रमण नियोजित रहेको बताए।
उनले भने, ‘मेरै टोलको, पुरानो राजनीतिक दलको र सरकारमा बसेको पार्टीको चुनाव लडेको नेता नै मेरो घर जलाउन आएको थियो, जसको प्रधानमन्त्री केपी शर्मा ओलीसम्म पहुँच थियो।’
थापाले उक्त आन्दोलनमा दुईथरी मानिसहरू रहेको विश्लेषण गरे- एक, वास्तविक रूपमा आक्रोशित र परिवर्तन चाहने युवाहरू, र दोस्रो, यही मौकामा घुसपैठ गरेर हिंसा भड्काउन खोज्ने तत्वहरू।
आफ्नो घरमा आक्रमण गर्न आएको भीडमा आपराधिक पृष्ठभूमि भएका व्यक्तिसमेत सामेल भएको उनले बताए।
‘त्यहाँ काभ्रेका एक व्यक्ति थिए, जो उमेरले जेन-जी होइनन् र भर्खरै बलात्कारको मुद्दाबाट छुटेर आएका थिए’, थापाले भने।
महामन्त्री थापाले युवाहरूको वास्तविक आक्रोशलाई सम्मान गर्नुपर्ने तर त्यसको आडमा हुने हिंसात्मक र आपराधिक गतिविधिलाई छुट्याएर हेर्नुपर्नेमा जोड दिए।
उनले भने, ‘यदि वास्तविक आन्दोलनकारी र घुसपैठ गर्ने तत्वलाई एउटै डालोमा राखेर हेरियो भने यसले सिंगो आन्दोलनलाई नै बदनाम र विकृत बनाउने खतरा रहन्छ।’
उनले आन्दोलनको पवित्रतामाथि प्रश्न नउठोस् भन्नका लागि आन्दोलनको नेतृत्व गरिरहेका युवाहरूले नै यस्ता घुसपैठ गर्नेहरूलाई कारबाहीको माग गर्नुपर्ने बताए।
कात्तिक ४, २०८२ मंगलबार ०९:१४:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।