ट्रम्पको चीनलाई कडा चेतावनी : सम्झौता नभए १५५ प्रतिशतसम्म ट्यारिफ लाग्न सक्छ

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार चीनलाई कडा चेतावनी दिँदै उसले १५५ प्रतिशतसम्म ट्यारिफ (भन्सार) तिर्नुपर्ने हुन सक्ने बताएका छन्।
उनले चीनलाई नोभेम्बर १ सम्ममा व्यापार सम्झौता गर्न अन्तिम समयसीमा दिएका छन्। ट्रम्पले यो बयान ह्वाइट हाउसमा अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजसँगको भेटघाटका क्रममा दिएका हुन्।
उनले भने, ‘चीनले हाम्रो धेरै सम्मान गरेको छ। उनीहरूले हामीलाई ट्यारिफको रूपमा ५५ प्रतिशतसम्मको ठूलो रकम तिरिरहेका छन्। तर, यदि नोभेम्बर १ सम्ममा सम्झौता भएन भने यो १५५ प्रतिशतसम्म पुग्न सक्छ।’
उनले थपे, ‘पहिले धेरै देशहरूले अमेरिकाको फाइदा उठाए, तर अब त्यसो हुन दिइने छैन।’
ट्रम्प र सीबीच चाँडै भेटवार्ता हुने
ट्रम्पले आफूले चाँडै नै दक्षिण कोरियामा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्ने र उक्त भेट दुवै देशका लागि फाइदाजनक हुने आशा व्यक्त गरे।
‘हाम्रो सम्बन्ध राम्रो छ र मलाई लाग्छ कि हामी यस्तो सम्झौता गर्नेछौँ जुन दुवै देशको हितमा हुनेछ,’ उनले भने, ‘म चाहन्छु कि उनीहरूले हाम्रो सोयाबिन खरिद गरून्। यो दुवै देश र सम्पूर्ण विश्वका लागि उत्कृष्ट हुनेछ।’
भेटका क्रममा ट्रम्पले आफूलाई अर्को वर्षको सुरुमा चीन भ्रमणको निम्तो आएको र त्यसलाई स्वीकार गरिसकेको पनि जानकारी दिए।
विवादको जड: चीनको दुर्लभ खनिजमाथिको नियन्त्रण
अमेरिकाले अक्टोबर १० मा चीनमाथि १०० प्रतिशत अतिरिक्त ट्यारिफ लगाउने धम्की दिएको थियो। यसको मुख्य कारण चीनले धेरै दुर्लभ खनिज सम्बन्धी नयाँ नियमहरू जारी गर्नु हो।
यी नियमअनुसार, कुनै पनि कम्पनीले चीनबाट दुर्लभ खनिज खरिद गरी बाहिर बेच्न चाहेमा पहिले चिनियाँ सरकारबाट लाइसेन्स लिनुपर्नेछ।
चीनसँग विश्वका १७ दुर्लभ खनिजहरू छन्, जसको प्रयोग इलेक्ट्रोनिक सामग्री, विद्युतीय गाडी र रक्षा क्षेत्रमा हुन्छ। चीनले पहिले नै ७ वटामा नियन्त्रण राखेकोमा अक्टोबर ९ मा थप ५ वटा (होल्मियम, एर्बियम, थुलियम, युरोपियम र यटरबियम) लाई पनि नियन्त्रणको सूचीमा राखेको छ।
योसँगै चीनको १७ मध्ये १२ दुर्लभ खनिजमाथि पूर्ण नियन्त्रण कायम भएको छ। चीनले विश्वको ७० प्रतिशत दुर्लभ खनिज आपूर्ति र ९० प्रतिशत प्रशोधन नियन्त्रण गर्ने भएकाले यो कदमले अमेरिका र उसका सहयोगी राष्ट्रहरूलाई असर पार्न सक्छ।
चीनले शीर्ष व्यापार वार्ताकारलाई हटायो
चीनले आफ्ना शीर्ष व्यापार वार्ताकार ली चेङगाङलाई पदबाट हटाएको छ। उनले हालै अमेरिकासँग भएको चार चरणको वार्तामा नेतृत्व गरेका थिए। सरकारले उनलाई विश्व व्यापार संगठनमा चीनको स्थायी प्रतिनिधि पदबाट हटाएर उनको स्थानमा ली योङजीएलाई नियुक्त गरेको छ।
अमेरिकी ट्रेजरी सचिव स्कट बेसेन्टले ली चेङगाङको व्यवहारको आलोचना गरेलगत्तै यो परिवर्तन भएको हो। बेसेन्टले भनेका थिए, ‘ली नबोलाईकनै वासिङ्टन आए र यदि अमेरिकाले बन्दरगाह शुल्क लगायो भने चीनले विश्वव्यापी अव्यवस्था फैलाउने धम्की दिए।’
यसपछि, अमेरिकी र चिनियाँ अधिकारीहरूबीच नयाँ वार्ताको तयारी सुरु भएको छ। ट्रम्प र सीको शिखर सम्मेलनअघि सहमति जुटाउन दुवै देशले मलेसियामा अर्को बैठक गर्न सक्नेछन्।
विज्ञहरूको टिप्पणी: ‘अमेरिकाले पहिले आक्रमण गर्यो, अब निर्दोष बन्दैछ’
ट्रम्पको आक्रामक नीतिबारे टिप्पणी गर्दै बेइजिङको रेनमिन विश्वविद्यालयका प्रोफेसर जिन कनरोङले भने, ‘अमेरिकाले पहिले चीनमाथि आक्रमण गर्यो र अब आफूलाई निर्दोष देखाउने प्रयास गरिरहेको छ।’
सांघाईको फुडन विश्वविद्यालयका प्रोफेसर वू शिनबोले भने, ‘यो कदमले अमेरिकाको गलत मनसाय उजागर गर्छ। ट्रम्पको टोलीलाई आफ्नो निर्णयको परिणामबारे थाहा छैन। अमेरिकाले चिप्स र प्रविधिमा प्रतिबन्ध लगायो, अब चीनले त्यसको जवाफ दिइरहेको छ।’
उनले थपे, ‘चीनले अमेरिकाको दबाब सहन गर्ने छैन।’
कात्तिक ४, २०८२ मंगलबार ०८:४९:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।