भरतपुरमा स्कुटर दुर्घटना, दुई युवाको मृत्यु

भरतपुर : चितवनको भरतपुरमा आज बिहान भएको स्कुटर दुर्घटनामा परी दुई जना युवाको मृत्यु भएको छ।
भरतपुर महानगरपालिका-१० स्थित विमानस्थल नजिकै स्कुटर आफैँ अनियन्त्रित भई पल्टिँदा उक्त दुःखद घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बागमती प्रदेश ०६-००३ प ०६९२ नम्बरको स्कुटर दुर्घटना हुँदा चालक भरतपुर-२१ का २५ वर्षीय सन्दीप घिमिरे र पछाडि सवार सोही स्थानका २८ वर्षीय कुशल अर्यालको मृत्यु भएको हो।
कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीले दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको टाउकोमा गहिरो चोट लागेको जानकारी दिए।
उनीहरूलाई तत्काल उपचारका लागि भरतपुर अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
कात्तिक ४, २०८२ मंगलबार ०८:४०:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।