यौन शोषणको आरोपमा मुछिए बेलायती प्रिन्स एन्ड्रयू, संसदीय कारबाहीबाट जोगिन शाही उपाधि त्यागे

एजेन्सी : बेलायती राजा चार्ल्स तृतीयका कान्छा भाइ प्रिन्स एन्ड्रयूले आफ्ना सबै शाही उपाधिहरू त्याग्ने घोषणा गरेका छन्।
यौन अपराधी जेफ्री एप्सटिनसँगको सम्बन्ध र यौन शोषणको गम्भीर आरोपमा मुछिएपछि उनले ‘ड्युक अफ योर्क’ जस्ता महत्वपूर्ण उपाधिहरू अब प्रयोग नगर्ने शुक्रबार एक विज्ञप्ति मार्फत जानकारी दिएका हुन्।
प्रिन्स एन्ड्रयूको नाम कुख्यात यौन अपराधी जेफ्री एप्सटिनको मुद्दामा जोडिएको थियो। यसबाहेक, उनीमाथि आर्थिक अनियमितता र एक चिनियाँ जासूससँग सम्बन्ध रहेको आरोप पनि लागेको थियो।
यद्यपि, प्रिन्स एन्ड्रयूले आफूमाथि लागेका आरोपहरूलाई 'पूर्ण रूपमा अस्वीकार' गर्दै आएका छन्, तर लगातारका घोटालाहरूले उनको छबिमा गम्भीर असर परिरहेको थियो।
पीडितको किताव र मुद्दाले बढायो दबाब
जेफ्री एप्सटिन प्रकरणकी पीडित भर्जिनिया गिफ्रेले सन् २०२१ मा प्रिन्स एन्ड्रयूविरुद्ध मुद्दा दायर गरेकी थिइन्। गिफ्रेले आफू १७ वर्षकी छँदा एप्सटिनले आफूलाई प्रिन्स एन्ड्रयू समक्ष लगेको र प्रिन्सले आफ्नो यौन शोषण गरेको आरोप लगाएकी थिइन्।
उनले प्रिन्ससँग तीन पटक यौन सम्बन्ध राख्न बाध्य पारिएको दाबी गरेकी छन्। पहिलो पटक सन् २००१ मा लन्डनमा, दोस्रो पटक एप्सटिनको न्यूयोर्कस्थित घरमा र तेस्रो पटक अमेरिकी भर्जिन आइल्याण्डमा। गिफ्रेको यही खुलासापछि प्रिन्स एन्ड्रयूलाई शाही परिवारबाट लगभग अलग्याइएको थियो।
मिडिया रिपोर्टका अनुसार, गिफ्रेको पुस्तक छिट्टै प्रकाशित हुन लागेको छ, जसमा प्रिन्स एन्ड्रयू र एप्सटिनबीचको सम्बन्धबारे थप खुलासा हुने बताइएको छ। यही समयमा राजा र रानीको भ्याटिकन भ्रमणअघि राजपरिवार कुनै पनि विवादबाट बच्न चाहेको देखिन्छ।
संसदीय कारबाहीबाट जोगिन उपाधि त्याग
यदि प्रिन्स एन्ड्रयूले आफैँ उपाधि नत्यागेको भए, उनको उपाधि खोस्न संसदले कानुन बनाउनुपर्ने अवस्था आउँथ्यो, जसले राजपरिवारलाई थप अप्ठ्यारोमा पार्ने थियो। यो कदम चालेर उनले संसदको प्रत्यक्ष हस्तक्षेपबाट बच्ने प्रयास गरेका छन्।
राजा चार्ल्सले उनको आर्थिक सहायता पहिल्यै बन्द गरिसकेका छन्, त्यसैले अब उनले आफ्नो खर्च आफैँ व्यवस्थापन गर्नुपर्नेछ। यो निर्णयपछि उनका छोरीहरूले भने आफ्नो 'प्रिन्सेस' उपाधि कायम राख्न पाउनेछन्।
कात्तिक ४, २०८२ मंगलबार ०८:१६:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।