म्याग्दीमा ८४ मेगावाटका दुई जलविद्युत् आयोजना सञ्चालनमा, राष्ट्रिय प्रसारणमा बिजुली थपियो
म्याग्दी : म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निजी क्षेत्रको लगानीमा निर्मित दुई जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन शुरू गरेका छन्।
तुँदी पावर कम्पनीले राहुघाट नदीमा निर्माण सम्पन्न गरेका कूल ८४ मेगावाट क्षमताका दुवै आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएका हुन्।
कम्पनीका अनुसार ३५.५ मेगावाट क्षमताको चिमखोला-राहुघाट-मङ्गले र त्यसैको 'क्यासकेड' आयोजनाको रूपमा निर्मित ४८.५ मेगावाटको अपर राहुघाट जलविद्युत् आयोजना सञ्चालनमा आएका हुन्।
चिमखोला-राहुघाट-मङ्गले आयोजनाले गत साउन २० गतेदेखि नै व्यापारिक उत्पादन गरिरहेको थियो भने अपर राहुघाट पनि परीक्षण सकेर व्यावसायिक उत्पादनको चरणमा प्रवेश गरेको छ।
कम्पनीका व्यवस्थापक पुष्प डाँगीका अनुसार करिब १३ अर्ब रुपैयाँको लागतमा यी आयोजना चार वर्षको अवधिमा निर्माण सम्पन्न भएका हुन्।
‘दुवै आयोजना 'रन अफ द रिभर' प्रकृतिका हुन् र अहिले नदीमा पानीको बहाव राम्रो भएकाले पूर्ण क्षमतामा सञ्चालन गर्न सकिने अवस्था छ’, डाँगीले भने।
उत्पादित विद्युत्लाई रघुगङ्गा गाउँपालिका-३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको स्विचयार्डमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।
यी दुई आयोजनाको सफलतासँगै राहुघाट नदी बेसिन जलविद्युत् उत्पादनको केन्द्र बन्दै गएको छ। यसअघि संयुक्त ऊर्जा लिमिटेडले निर्माण गरेको २१.३ मेगावाटको ठूलोखोला जलविद्युत् आयोजनाले पनि गत भदौदेखि उत्पादन गरिरहेको छ।
रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीका अनुसार यसै क्षेत्रमा ४० मेगावाटको राहुघाट र २३.५ मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना पनि निर्माणको अन्तिम चरणमा पुगेका छन्।
यी आयोजनाहरू पनि यसै आर्थिक वर्षभित्र सम्पन्न हुने लक्ष्य राखिएको छ, जसले राष्ट्रिय प्रसारण प्रणालीमा थप ६३.५ मेगावाट बिजुली थपिनेछ।
कात्तिक ४, २०८२ मंगलबार ०७:४२:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।