लक्ष्मीपूजामा नेपालबाट एक हजार १५ मेगावाट बिजुली निर्यात

काठमाडौं : यस वर्षको लक्ष्मीपूजाको दिन नेपालले आन्तरिक माग सफलतापूर्वक धान्दै एक हजार १५ मेगावाट बिजुली निर्यात गरेको छ।
उज्यालोको पर्व मानिने तिहारमा सबैभन्दा बढी बिजुली खपत हुने दिन सोमबार साँझ देशभरको कूल माग एक हजार ६५० मेगावाट पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
प्राधिकरणको तथ्याङ्कअनुसार यो माग गत वर्षको तुलनामा ४८ मेगावाटले बढी हो।
गत वर्ष लक्ष्मीपूजाको दिन विद्युत्को उच्च माग एक हजार ६०२ मेगावाट रहेको थियो। माग बढे पनि प्राधिकरणले सहजै आपूर्ति व्यवस्थापन गरी अतिरिक्त बिजुली निर्यात गर्न सफल भएको हो।
तिहारलाई बत्ती र उज्यालोको पर्वका रूपमा लिइन्छ, जसकारण यस समयमा बिजुलीको खपत उच्च हुने गर्दछ।
तर, विगत केही वर्षयता नेपाल बिजुलीमा आत्मनिर्भर हुँदै मागभन्दा बढी उत्पादन गर्न सफल भएको छ। प्राधिकरणले उत्पादित अतिरिक्त बिजुली भारत तथा बङ्गलादेशमा निर्यात गर्दै आएको छ।
कात्तिक ४, २०८२ मंगलबार ०७:२४:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।