जङ्गली जनावरसँग भिड्ने गोठालाको भरोसा- ‘भोटे कुकुर’

जङ्गली जनावरसँग भिड्ने गोठालाको भरोसा- ‘भोटे कुकुर’

म्याग्दी : म्याग्दीका किसानहरू घुम्ती गोठमा पशुपालन गर्दा सुरक्षा र सहयोगका लागि अनिवार्य रूपमा कुकुर पाल्ने गर्छन्। महिनौँसम्म जङ्गलमा एक्लै बस्ने गोठालाहरूका लागि कुकुर केवल सुरक्षा सहयोगी मात्र होइनन्, साथी पनि हुन्। कुकुरहरूले चितुवा, ब्याँसो, भालु, स्यालजस्ता जङ्गली जनावरको आक्रमणबाट भेडा–बाख्राको रक्षा गर्छन्। त्यसैले ग्रामीण क्षेत्रमा कुकुरबिनाको गोठको कल्पनै गर्न सकिँदैन।

सहरबजारमा कुकुर सोखका रूपमा पालिए पनि दुर्गम र विकट क्षेत्रका किसानका लागि कुकुर पाल्नु बाध्यताजस्तै हो। राति, बिहान र साँझ गोठको वरिपरि घुम्दै पहरा दिने कुकुरले जङ्गली जनावर वा चोर आएको थाहा पाएपछि चर्को स्वरमा भुक्दै संकेत गर्छन्, लखेट्छन् र भिडेर पनि गोठालालाई सहयोग गर्छन्।

धवलागिरी गाउँपालिका–१ गुर्जाका ८० वर्षीय नरबहादुर छन्त्यालले भने, “कुकुरबिनाको गोठालाको कल्पनानै गर्न सकिँदैन। ६८ वर्षदेखि गोठाला गर्दै आएको छु। कुकुरले पशुहरूलाई चराउन लैजाँदा पछिपछि डुल्छ, अप्ठ्यारो भिरतिर जान दिँदैन, साँझ परेपछि खेदेर गोठमा फर्काउँछ। चितुवा, ब्याँसो, स्याल देखेपछि भुक्दै सूचना दिन्छ र आक्रमण गर्न आउने जनावर भगाउँछ।”

पूर्वी रुकुम, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटन शिकार आरक्षको बुकी क्षेत्रमा भेडापालन गर्दै आएका धवलागिरी गाउँपालिका–३ मुनाका ८३ वर्षीय लिलबहादुर पुनको गोठको सुरक्षाको जिम्मा पनि कुकुरकै हो। ६० वर्षदेखि भेडापालन गर्दै आएका पुनले आफ्नो र भेडाबाख्राको सुरक्षाका लागि तीन वटा ‘भोटे कुकुर’ पालेको बताए।

धवलागिरी गाउँपालिका–५ मल्कवाङका हिमबहादुर छन्त्यालका अनुसार कुकुरबिना गोठालाले सयौँको सङ्ख्यामा रहेका गाई, भैसी, भेडाबाख्रा र च्याङग्राको रेखदेख गर्न सक्दैनन्। त्यसैले कुकुरलाई गोठालाको बफादार सहयोगीको रूपमा मानिन्छ।

म्याग्दी, मुस्ताङ र ढोरपाटनका अधिकांश गोठालाहरूले तीस किलोग्रामभन्दा बढी तौल हुने, अग्ला र ठूला शरीर भएका, देख्नासाथ डर लाग्ने कम्तीमा दुईवटा ‘भोटे कुकुर’ पालेका हुन्छन्। यस्ता कुकुरका छाउराको मूल्य पनि प्रतिगोटा रु १० हजारभन्दा बढी पर्छ।

कृषक नेत्रप्रसाद राम्जालीका अनुसार यस्ता कुकुरहरूले मालिकप्रति गहिरो माया गर्छन्, जङ्गली जनावरको चाल छिटो सुन्छन् र सुँघेर पत्ता लगाउने असाधारण क्षमता राख्छन्। यसले गोठालाको दैनिकी सहज र सुरक्षित बनाएको छ।

बिहान र बेलुका पिठोको खोलेसँगै भेडाको दूध र मासु नै गोठमा पालिएका कुकुरको मुख्य खाना हो। एक ठाउँमा १० देखि १५ दिनसम्म गोठ राखी वरपरका खर्क र जङ्गलमा घाँस खुवाएपछि अर्को ठाउँमा सार्ने चलन छ। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र म्याग्दीका अनुसार हाल जिल्लाभर २०० भन्दा बढी गोठमा करिब २० हजार बरुवाल र भ्याङलुङ जातका भेडा पालिएका छन्।

कात्तिक ३, २०८२ सोमबार १४:३६:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।