गृहमन्त्रीको आरोपपछि पूर्वमन्त्री खड्काको दाबी- ‘भागेको होइन, डेँगुको उपचार गर्न भारत गएको रेकर्डै छ’

काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्यालले ‘देश छाडेर भागेको’ भनी लगाएको आरोपको खण्डन गर्दै पूर्व ऊर्जामन्त्री दीपक खड्काले आफू भागेको नभई परिवारको उपचारका लागि भारत गएको स्पष्ट पारेका छन्।
बुढानीलकण्ठस्थित आफ्नो जलेको घरमा सार्वजनिक भएका उनले सरकार र केही सञ्चारमाध्यमले समाजमा भ्रम फैलाएको आरोप लगाए।
आफ्नो जलेको घरको पृष्ठभूमिमा बोल्दै खड्काले आगलागी भएको रातको कहालीलाग्दो क्षणबारे पनि जानकारी दिए।
‘२४ गते म घरमै थिएँ, खाना खाँदै थिएँ,’ खड्काले भने, ‘मेरो घरमा आगजनी हुँदै गर्दा ढोका ढ्याङ-ढ्याङ गरेपछि खान पनि पाइनँ, बच्चालाई पनि खुवाउन पाइनँ। अंगरक्षक साथीहरूले मलाई बाहिर निकाल्नुभयो।’
उनले आगलागीपछि नेपाली सेनाले घटनास्थललाई सुरक्षित गरेर संरक्षण गरेको समेत बताए।
खड्काले आफू, आफ्ना बच्चा र श्रीमतीसहित सपरिवारलाई डेँगु संक्रमण भएपछि पारिवारिक दबाबका कारण उपचारका लागि भारत गएको दाबी गरे।
‘म ११ दिन भारतको मेदान्त अस्पतालमा परिवारसहित उपचारमा बसेँ, त्यसको रेकर्ड छँदैछ,’ उनले भने, ‘मेरी श्रीमती अझै पनि उपचारकै क्रममा छिन्। उनलाई छाडेर म यहाँ समाजलाई दिग्भ्रमित पार्ने कुराको जवाफ दिन आएको हुँ।’
आफूमाथि कुनै कानुनी कारबाही वा यात्रा प्रतिबन्ध नभएको अवस्थामा ‘भागेको’ भन्नु गैरजिम्मेवारपूर्ण भएको उनको भनाइ थियो।
उनले गृहमन्त्रीलाई लक्षित गर्दै प्रश्न गरे, ‘सरकारले मलाई वारेन्ट काटेको छ? कहीँ नजानु भनेर रोक लगाएको छ? अनि म कसरी भागें? कानुनको विद्यार्थी हुँ भन्ने गृहमन्त्रीले यस्तो बोल्न मिल्छ?’
खड्काले आफूविरुद्ध नियोजित रूपमा ‘दलाल, भरौटे र एजेन्ट’हरू लागेको आरोप लगाउँदै यस्ता भ्रामक प्रचारले समाजलाई गलत दिशातर्फ लगिरहेकोप्रति चिन्ता व्यक्त गरे।
उनले भने, ‘एउटा मान्छेको पछि लागेर सिंगो समाजलाई भ्रमित पार्न मिल्छ? हाम्रो पत्रकारिता कहाँ जाँदैछ?’
हालै नयाँ पत्रिकालाई दिएको एक अन्तर्वार्तामा गृहमन्त्री अर्यालले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग सक्रिय भएपछि खड्का देश छाडेर भागेको दाबी गरेका थिए। खड्काले सोही आरोपको प्रतिवाद गर्न आफ्नो जलेको घरबाटै सार्वजनिक रूपमा जवाफ दिएका हुन्।
कात्तिक ३, २०८२ सोमबार १०:४८:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।