सहकारी ठगी : ३० करोड अपचलन गरी फरार कांग्रेस नेता अझै पक्राउ परेनन्, बचतकर्ताको लगानी जोखिममा

सहकारी ठगी : ३० करोड अपचलन गरी फरार कांग्रेस नेता अझै पक्राउ परेनन्, बचतकर्ताको लगानी जोखिममा

बुटवल : रुपन्देहीको तिलोत्तमास्थित डिङ्गरनगर दूरगामी बहुउद्देश्यीय ऋण सहकारी संस्थाको करिब ३० करोड रुपैयाँ अपचलन गरी फरार भएका अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर थापा चार महिना बितिसक्दा पनि पक्राउ परेका छैनन्।

नेपाली कांग्रेसका स्थानीय नेता समेत रहेका उनीहरू गत असार १७ गतेदेखि सम्पर्कविहीन भएपछि सहकारीमा रकम जम्मा गर्ने सयौँ बचतकर्ताको लगानी जोखिममा परेको छ।

इलाका प्रहरी कार्यालय, बुटवलले फरार दुवै जनाको खोजी कार्य तीव्र पारिएको जनाएको छ। कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्र रानाले भने, ‘हामीले अनुसन्धानलाई निरन्तरता दिएका छौँ, फरार अभियुक्तहरूको खोजी कार्य जारी छ।’

स्थानीय स्तरमा राजनीतिक र सामाजिक रूपमा स्थापित भएकै कारण तिवारी र थापालाई विश्वास गरेर अधिकांश सदस्यले रकम जम्मा गरेका थिए।

तर, संस्थाका मुख्य पदाधिकारी नै रकम हिनामिना गरेर फरार भएपछि बचतकर्ताहरू आफ्नो बचत फिर्ता हुनेमा आशङ्कित बनेका छन्।

८५ करोडको नीतिगत अपचलन, छानबिन प्रतिवेदन प्रहरीमा
अध्यक्ष र सचिव फरार भएपछि अन्य सञ्चालक र बचतकर्ताको पहलमा गठन भएको स्वतन्त्र लेखा परीक्षण समितिले तयार पारेको प्रतिवेदनले संस्थामा भएको वित्तीय अपराधको डरलाग्दो चित्र उजागर गरेको छ।

लेखापरीक्षक योगचन्द्र बास्तोलाको नेतृत्वमा गठित समितिले संस्थामा करिब ८५ करोड रुपैयाँ बराबरको बचत रकम सहकारीको नीतिविपरीत परिचालन भएको खुलासा गरेको छ।

प्रतिवेदनअनुसार, संस्थामा १२ करोड रुपैयाँ सीधै हिनामिना भएको छ भने थप २५ करोड रुपैयाँ अपचलन भएको देखिएको छ।

उक्त प्रतिवेदन प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय हुँदै अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय, बुटवलमा पठाइएको छ। डीएसपी रानाले सोही प्रतिवेदनको आधारमा अनुसन्धान अघि बढाइएको जानकारी दिए।

लेखा परीक्षण प्रतिवेदनले देखाएको अनियमितता:
८५ करोड: नीतिगत अपचलन
३४ करोड ७ लाख: गैरकानुनी ऋण प्रवाह
१२ करोड: सिधै हिनामिना
८ करोड २७ लाख: सञ्चालक समितिबाटै भएको अनियमितता
४ करोड ७० लाख: व्यवस्थापक बसन्त पराजुलीद्वारा अनियमितता (ब्याजसहित ४ करोड ८० लाख असुल गर्नुपर्ने)
५८५ ऋणीमध्ये करिब ५० जनालाई बिनाधितो ऋण प्रवाह।
६४ लाखको धितोलाई १ करोड १४ लाख मूल्यांकन गरी ऋण प्रवाह।
सहकारीको सफ्टवेयरमा अंक र अक्षर १३ हजार पटक मेटाइएको खुलासा।
सचिव रामबहादुर थापाले मात्रै ८७ पटक ऋण प्रवाह गरेको।

अपचलन भएको रकम चुनढुंगा खानी, होटल र जग्गामा
छानबिनका क्रममा सहकारीबाट अपचलन गरिएको अधिकांश रकम अध्यक्ष तिवारी र सचिव थापाले आफ्नो व्यक्तिगत व्यवसायमा लगानी गरेको खुलेको छ।

उनीहरूले उक्त रकमबाट पाल्पामा चुनढुंगा खानी, बुटवलको जानकीनगरमा होटल एचके र जोगिकुटी चोकमा घर खरिद गरेको प्रतिवेदनमा उल्लेख छ।

सहकारी ऐनलाई चुनौती दिँदै फरार अध्यक्ष तिवारी विगत १७ वर्षदेखि निरन्तर अध्यक्ष पदमा रहेको खुलेको छ। प्रदेश सहकारी ऐन, २०७६ अनुसार एउटै व्यक्ति लगातार दुई कार्यकालभन्दा बढी एउटै पदमा बस्न पाउँदैन।

तर, तिवारीले कानुनलाई बेवास्ता गर्दै पदमा बसेर संस्थामा एकलौटी निर्णय गर्दै आएका थिए। वि.सं. २०५० सालमा स्थापित यो सहकारीमा करिब १९ सय सेयर सदस्य र ३८ करोड रुपैयाँ पुँजी रहेको छ।

संस्थाको रकम हिनामिनामा संलग्न अधिकांश व्यक्ति कांग्रेसका स्थानीय नेता हुन्।

अध्यक्ष तिवारी गत स्थानीय निर्वाचनमा कांग्रेसबाट वडाध्यक्षका आकांक्षी थिए भने सचिव थापा कांग्रेस नगर समितिका पूर्वसचिव हुन्। त्यस्तै, सह-कोषाध्यक्ष केशरी पाण्डे कांग्रेस तिलोत्तमा-३ की वर्तमान सभापति हुन्।

कात्तिक ३, २०८२ सोमबार १०:३८:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।