एनपीएलका लागि बिराटनगर किङ्सको म्यास्कट ‘पूर्वेली राजा’ सार्वजनिक

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली बिराटनगर किङ्सले आफ्नो आधिकारिक म्यास्कट सार्वजनिक गरेको छ।
टोलीले कोशी प्रदेशको पहिचान र शक्तिलाई प्रतिनिधित्व गर्ने ‘अर्ना’ लाई ‘पूर्वेली राजा’ नाम दिएर आफ्नो म्यास्कटको रूपमा अघि सारेको हो।
टोलीका अनुसार, कोशी क्षेत्रमा पाइने लोपोन्मुख वन्यजन्तु अर्नालाई शक्ति र सहनशीलताको प्रतीक मानिन्छ।
यसलाई म्यास्कटको रूपमा छनोट गरेर आफ्नो क्षेत्रको प्राकृतिक सम्पदाप्रति सम्मान व्यक्त गर्दै यसको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्य राखिएको बिराटनगर किङ्सले जनाएको छ।
म्यास्कटलाई दिइएको ‘पूर्वेली राजा’ नामले कोशी प्रदेशमा बिराटनगरको गौरव र नेतृत्वदायी भूमिकालाई दर्शाउँछ। यसले टोलीलाई ‘पूर्वको राजा’ को रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ।
बिराटनगर किङ्सले ‘पूर्वेली राजा’ मार्फत आफ्ना समर्थकहरूमा क्षेत्रीय पहिचान र प्रकृतिप्रतिको अपनत्वको भावना जगाउने विश्वास लिएको छ।
एनपीएल नजिकिँदै गर्दा सार्वजनिक गरिएको यो म्यास्कटले टोलीको अभियानमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।
कात्तिक ३, २०८२ सोमबार १०:१२:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।