दरमखोला जलविद्युत आयोजना सञ्चालनमा, राष्ट्रिय प्रसारणमा ९.६ मेगावाट बिजुली थपियो

काठमाडौं : बागलुङ र गुल्मी जिल्लामा निर्माण भएको दरमखोला जलविद्युत आयोजनाले व्यावसायिक उत्पादन शुरू गरेको छ।
दरमखोला हाइड्रो इनर्जी लिमिटेडद्वारा प्रवर्द्धित ९.६ मेगावाट क्षमताको यस आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ।
कम्पनीका अनुसार आयोजनाले गत असोज ३१ गतेदेखि सफलतापूर्वक विद्युत उत्पादन थालेको हो। यो आयोजना बागलुङको गल्कोट नगरपालिका र बडीगाड गाउँपालिका तथा गुल्मीको मुसिकोट नगरपालिकामा अवस्थित छ।
कम्पनीले हालै सर्वसाधारणका लागि आफ्नो जारी पुँजीको ३९.५ प्रतिशत अर्थात् ३९ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गरेको थियो।
आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँ पुगेको छ। कम्पनीका अनुसार उक्त सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकरणको प्रक्रियामा रहेको छ।
आयोजना सम्पन्न गर्न सहयोग पुर्याउने स्थानीय तह, जग्गादाता, ऋण लगानीकर्ता बैंकहरू, नियमनकारी निकाय, परामर्शदाता तथा सेयरधनीहरूप्रति कम्पनीले एक विज्ञप्तिमार्फत आभार व्यक्त गरेको छ।
कम्पनीले आयोजनाको सफलतालाई संस्थागत उपलब्धिका रूपमा मात्र नभई सम्पूर्ण स्थानीय समुदाय, सरोकारवाला र लगानीकर्ताको सामूहिक प्रयासको प्रतिफल भएको बताएको छ।
कात्तिक ३, २०८२ सोमबार ०९:१०:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।